नेपाली मिडिया क्षेत्रमा चर्चित नाम हो, ऋषि धमला । दिनमा १८ घण्टा काम गरेको दाबी गर्ने धमलाले यसपटकको दशैँ कसरी मनाउँदैछन् ? चलचित्र निर्माणमा हात हालेका धमलाले पत्नी एलिजा गौतमलाई लिएर चलचित्र निर्माण गरेका थिए ‘अनुराग’ । उनको यो अनुभव कस्तो रह्यो ?  ‘अनुराग’ ले दर्शकको कस्तो प्रतिक्रिया पायो ? लगायतका विषयमा रिपोटर्स क्लबका ‘स्थायी अध्यक्ष’ समेत रहेका तिनै धमलासंग हिमालयपोष्टले गरेको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


सर्वप्रथमतः दशैँको माहोल छ । के भन्नुहुन्छ यस अवसरमा ?


ADVERTISEMENT

# # #


म हिमालयपोष्ट मार्फत सम्पूर्ण नेपालीहरुलाई वडादशैँ, तिहार, छठ लगायत विभिन्न चाडपर्वको अवसरमा शुभकामना दिन चाहन्छु । नेपालीहरु धर्म, संस्कृति भनेपछि हुरुक्कै हुन्छन् । नेपालीहरुको आफ्नै पहिचान छ । जस्तोसुकै पीडा वेदना हुँदा पनि एकदमै खुसीका साथ चाडपर्व मनाउने नेपालीहरुको परम्परा छ । यस पटकको वडा दशैँको अवसरमा सबै नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्दछु । तपाइरुहरु आफ्नो गच्छे अनुसारको खर्च गर्नुस् । एउटा विपन्नको घरमा दशैँमा मासु पोकेको छैन भने अर्को घरले बाँडेर खाने प्रचलन हाम्रो देशमा छ । कतिपय ठाउँमा मानिसहरु अहिले पनि मासुभात खान पाउँदैनन् । यस्तो अवस्थामा हामीले एकआपसमा मिलेर चाडपर्व मनाउनु पर्छ ।

यसपालिको दशैँ कसरी मनाउँदै हुनुहुन्छ ?

म त गाउँले किसानको छोरो । गाउँमा जान्छु । गाउँलेसंग हाँसखेल गर्छु । उनीहरुका समस्या सुन्छु । उनीहरुले पकाएका कुराहरु खान्छु । त्यसैले मैँले अघि पनि भनेँ, दशैँ आफ्नो गच्छे अनुसारले मनाउने हो । नेपालीहरुमा चाडपर्व मनाउने होडबाजी छ । त्यो पनि तोड्नुपर्छ । धनी र गरिब बीचको खाडल अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

तपाईँको अहिलेसम्म कुनै अविस्मरणीय दशैँ  छ ?

छ । २०६३ मा आन्दोलन सफल भइसकेपछिको दशैँको कुरा हो । घर गएको थिएँ । बुवाले ‘यस पटकको दशैँ त मनाइयो छोरा । तर तेरो विवाह भएन । मैँले तेरो विवाह नदेखिकन यो संसार त्याग्दैछु’ भनेर भन्नु भएको थियो । १० वर्षसम्म तपाईँलाई केही हुँदैन, त्यतिञ्जेल मैँले बिहे गरिसक्छु भनेँ । तर उहाँ त्यसको ७-८ महिना मै जानुभयो । त्यस कारण मेरो जीवनमा कहिल्यै नबिर्सिने दशैँ त्यही हो । त्यो भन्दा अगाडी बुवाको हातबाट टिका लगाउन म जहाँबाट पनि पुग्थेँ । आजभोलि चाहेरपनि जान सकिरहेको छैन । यसमा मेरो व्यस्तता बढेकोले पनि होला । समय मिलेसम्म गइराख्छु ।

अहिलेको समसामयिक राजनीतिक दृश्यलाई कसरी विश्लेषण गरिरहनु भएको छ ?

अब राजनीतिको कुरा गर्नुपर्दा केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिको नारा सुरुदेखि नै ल्याएको छ । तर त्यो सार्थक भएको छैन । तर म सरकारको आलोचना गरेर समय खेर फाल्न चाहन्नँ । सरकारको पनि चुनौतिहरु छन् । नेताले जनताको मनमा बस्न सक्नुपर्छ, जनताको लागि काम गर्नुपर्छ । विगतमा धेरै नेताहरुले प्रधानमन्त्री भइसकेपछि जनतालाई बिर्सेको उदाहरण छन् । लामो समयको पर्खाईपछि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएर कार्यान्वयन भएको छ । अब देशमा समृद्धि र विकासको कुरा गरिरहँदा भष्टाचार अन्त्य र सुशासन आजको मूल एजेण्डा हो । तर त्यो अझै हुन सकेको छैन ।

कालोबजारियाहरुले राजनीतिक शक्तिको आडमा बजारमा आफ्नो दबदबा कायम गरेका छन् । त्यसैले कालोबजारियालारुई निस्तेज पार्नुपर्छ । उनीहरुको मनोबल एकदम कमजोर पार्नुपर्छ । ओलीको जुन किसिमको भिजन थियो, त्यो कार्यान्वयन भएको छैन । प्रधानमन्त्री हुनुअघि निर्वाचनमा जाँदा उहाँले जनतालाई जुन किसिमका आश्वासन दिनुभएको थियो, त्यो पूरा हुन सकेकको छैन । पाँच वर्षका लागि चुनिएको स्थायी सरकारले काम गर्नतिर लाग्नुपर्छ ।

यही गतिले विकास र समृद्धिको गन्तव्यमा पुग्न सकिएला ? तपाईंलाई के लाग्छ ?

नेपालमा राजनीतिक नेतृत्व अत्यन्त कमजोर छ । समग्र देशको नेतृत्व गर्ने राजनेता अहिलेको आवश्यकता हो । प्रचण्ड, शेरबहादुर देउवा सबैलाई जनताले मूल्याङ्कन गरिसके । केपी ओलीका लागि अहिले नै त्यो भन्न सकिँन्न । अझै पनि समय बाँकी छ । उहाँसंग जुन जनमत छ, त्यसको समुचित प्रगोग गर्नुपर्छ ।

अर्को नेकपाका नेता वामदेव गौतमले प्रतिनिधिसभामा जानका लागि निर्वाचन लड्ने कुरा पछिल्लो समय चर्चामा आयो । तर उहाँ यसबाट पछि हट्नुभयो । यसलाई कसरी हेर्नुभएको छ ?

वामदेव गौतमको मान्छेले आलोचना गरे । तर, मलाई उहाँको स्प्रिड मन परेको छ । वामदेव गौतमले देशको लागि गरेको कुरा कसैलेपनि सम्झेनन् । नेपालमा गणतन्त्र र संघीयता वामदेव गौतमले दिएको हो । १२ बुँदे शान्ति सम्झौता गर्दाताका  प्रचण्ड, गरिजाप्रसाद कोइराला लगायत सातवटा पार्टीको मध्यस्थकर्ता वामदेव नै हुन् । त्यो कुरा बिर्सिनुहुँदैन ।

ऋषि धमलाले किन वामदेवको प्रशंसा गर्यो भन्नुहोला । तर, उपनिर्वाचन मार्फत प्रतिनिधिसभामा गएर देशको सेवा गर्छु भन्दैमा विरोध गर्नुपर्ने कारण म देख्दिनँ । यद्दपी जनताको मान मर्दन गर्न मिल्दैन, वामदेवलाई त्यो कुरा थाहा छ । तत्काललाई उहाँ चुनावबाट पछाडी हटेपनि यो पाँच वर्षमा प्रतिनिधिसभामा पुग्ने सम्भावना त्यक्तिकै देखेको छु ।

तर, राष्ट्रियसभाबाट पनि त आउन मिल्थ्यो नि ?

राष्ट्रियसभाबाट आएपछि प्रधानमन्त्री बन्न पाउँदैन नि त ! वामदेव उपप्रधानमन्त्री वा मन्त्री हुन जाने होइन । प्रतिनिधिसभामा पुगिसकेपछि उहाँ आफू प्रधानमन्त्रीको लागि योग्य उम्मेदवारको रुपमा देखिन चाहनुहुन्छ । वामदेव सफल नेता बन्ने हो भने उहाँका लागि यो अन्तिम मौका हो ।

ऋषि धमलाको राजनीतितिरको सोच छ कि छैन ?

अहिले म राजनीतितिर जान चाहान्नँ । जुन पेशामा मैँले आफूलाई स्थापित गराएको छु, जुन पेशामा काम गरिरहेको छु यही पेशाबाट मैँले समाजलाई, देशलाई केही दिनुपर्छ । जनताका लागि मैँले काम गर्नुपर्छ । त्यसैले म अहिले राजनीतिमा गएर समय खेर फाल्न चाहन्नँ ।

अन्त्यमा, पत्रकारितामा तपाई चर्चित हुनुहुन्छ । यससंगै भर्खरै नयाँ विधा फिल्म क्षेत्रमा हात हाल्नु भएको थियो । तर, त्यसमा तपाई सफल हुनुभएन भन्ने आइरहेको छ  ।  कस्तो रह्यो अनुभव ?

चलचित्र क्षेत्र कस्तो हो भने, यसमा संयोग पनि मिल्नुपर्छ, समय पनि मिल्नुपर्छ । म त नयाँ मान्छे हुँ । चलचित्रको सबै व्यवस्थापन पनि मैँले गर्न पाइनँ । बजारमा आइसकेपछि मात्रै मैँले व्यवस्थापन गरेको हुँ । फिल्मको कथावस्तु, पात्र छनोट र निर्माणमा मैँले जसरी काम गर्नुपथ्र्यो त्यसरी लागेको भए नम्बर वान चलिचित्र बनाइदिन्थेँ । अझैँ पनि दावाका साथ म भन्छु । यी काममा म लागेँ भने ‘नम्बर वान’ चलचित्र बनाइदिन्छु ।

कमजोरी त तपाईंकै हो नि ?

मैँले जुन टिमलाई विश्वास गरेर काम दिएको थिएँ, त्यो टिमले राम्रो चलचित्र बनाउन सकेन । तरपनि चलचित्र ‘अनुराग’ हेर्ने सबैले मन पराएका छन् । अर्कोतर्फ नेपाली फिल्म बजारमा पनि सिण्डिकेट छ । हल मालिकहरुको सिण्डिकेट, वितरकहरुको सिण्डिकेटले गर्दा मेरो चलचित्र असफल भएको हो । सिण्डिकेट नभएको भए मेरो चलचित्र नम्बर वान हुन्थ्यो । मेरो चलचित्र असफल बनाउन दीपकराज गिरी पनि लाग्नुभयो । यो पहिलोपटक मैँले घोषणा गरिरहेको छु । उहाँले मलाई लिएर सिण्डिकेटको खाल्डामा हालिदिनु भयो । हलवाला नरेन्द्र महर्जन र गोपाल कायस्थसंग मिटिङ राखिदिएर तपाईको चलचित्र अजोज १२ गतेलाई नै सम्झौता गरिदिनुस् भनेर भन्नु भयो ।

म अझैपनि भन्छु, दीपकराज गिरीले आफूले चलचित्र बनाएर मात्रै हुँदैन, अरुलाई पनि सर्पोट गर्नुपर्यो । उहाँले पनि अरु चलचित्रसंग प्रतिस्पर्धा गर्नसक्नु पर्यो । बजारमा आइसकेपछि प्रतिस्पर्धा गर्ने हिम्मत गर्नसक्नु पर्यो नि ? ऋषि धमलाले त ४/५ वटा चलचित्रसंग प्रतिस्पर्धा गर्यो नि ! दीपकराज गिरीसंग त्यो हिम्मत छैन ।

उसो भए तपाई चलचित्र क्षेत्रको सिण्डिकेट अन्त्य गर्न किन लाग्नुहुन्न ?

यो त सुरुवात मात्रै हो । हेर्दै जानुहोला । पाँच वर्षभित्र ऋषि धमलाले नेपाली चलचित्र क्षेत्रको सिण्डिकेट तोडेर देखाउँछ ।  लेखेरै राख्नुहोला, पाँच वर्षपछि नेपाली चलचित्र क्षेत्रमा कुनैपनि सिण्डिकेट हुनेछैन । मलाई सिण्डिकेटमा लगेर फसाउनेहरुलाई यो चेतावनी दिन्छु ।