म्याग्दी – एक व्यक्तिको निजी लगानीमा जलजला गाउँपालिका–३ स्थित ऐतिहासिक मल्लाज कोत भगवती मन्दिरको पुनःनिर्माण भएको छ । काठमाडँौको ताहचलका शिवकुमार श्रेष्ठले दिवङ्गत बुवा बाबुलाल र आमा बालकुमारी श्रेष्ठको स्मृतिमा मन्दिर पुननिर्माण गरेका हुन् ।


ADVERTISEMENT


श्रेष्ठको रु ३६ लाख सहयोगमा बाइसे/चौबिसे राज्यका पालामा निर्मित ऐतिहासिक मन्दिरको पुनःनिर्माण गरिएको मल्लाज कोत पूजा व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर जिसीले जानकारी दिए । आफ्नो जन्मथलोको ऐतिहासिक, धार्मिकस्थल जीर्ण बनेपछि स्थानीयवासीले गरेको अनुरोधअनुसार पुनःनिर्माणमा सहयोग गरेको श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


श्रेष्ठले मन्दिर पुनःनिर्माणका लागि विसं २०७२ मा सञ्चालन भएको महायज्ञमा सहयोगको घोषणा गरेका थिए । महायज्ञबाट सङ्कलित रकमबाट रु एक करोड ४० लाखको लागतमा मन्दिर परिसरमा पूजास्थल, भवन निर्माण र कोत परिसरको खेलमैदान विस्तार गरी प्याराफिट बनाइएको छ । मन्दिरको प्रवेशद्वार नजीकै एक जोडी बाघको शालिक बनाइएको मल्लाज भगवती कोत मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष टेकबहादुर जिसीले बताए ।

करीब ५०० वर्ष पुरानो कोत मन्दिर बाइसे/चौबीसे राज्यका पालामा तत्कालीन मल्लाज राज्यका राजाले पूजाआजाका लागि निर्माण गरेका थिए । कोत मन्दिरको जीर्णोद्धार गरी नयाँ संरचना निर्माण भएपछि पूजा व्यवस्थापनमा सहज हुनुका साथै मन्दिरको धार्मिक पर्यटन प्रर्वद्धनमा सहयोग मिलेको वडाध्यक्ष रवि भण्डारीले बताए ।

दिवङ्गत बुबाको स्मृतिमा विद्यालय निर्माणमा सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाँका एक व्यक्तिले दिवङ्गत बुबाको स्मृतिमा विद्यालय भवन निर्माणमा सहयोग गरेका छन् । काफलडाँडा घर भई हाल बेलायतमा बस्दै आएका गीरबहादुर गर्बुजाको आर्थिक सहयोगमा काफलडाँडा आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण हुनलागेको हो ।

दिवङ्गत बुबाको स्मृतिमा जिबी फाउण्डेशन स्थापना गरेर विदेशी दातामार्फत सहयोग गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गर्बुजाले बताए। अध्यक्ष गर्बुजाका अनुसार दुई तले पाँच कोठे भवन निर्माणका लागि रु ५० देखि ५५ लाख खर्च हुने अनुमान गरिएको छ । भवन निर्माणका लागि आवश्यक सबै खर्च गर्बुजाले फाउण्डेशनमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष गर्बुजाले बताए।

भवन निर्माणको काम ८० प्रतिशत सकिएको छ । वैशाख ५ गतेदेखि शुरु भएको भवन आगामी माघसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा ७६ विद्यार्थी छन् ।