– आनन्द राज राउत


ADVERTISEMENT


हरेक राजनीतिक दल वा पार्टीको आफ्नै बेग्लै सिद्धान्त, आदर्श, विचार र मूल्य, मान्यता हुने गर्दछ । जसका कारण उनीहरु एक अर्का भन्दा पृथक हुने गर्दछन् । सबै पार्टीको अन्तिम लक्ष्य निर्वाचनमा जीत हासिल गरेर सत्तामा पुग्ने र देश तथा जनताको सेवा गर्ने भन्ने नै हुन्छ । तर कसलाई सत्ताको बाघडोर सुम्पने र कसलाई सत्ता बाहिर राख्ने भन्ने कुराको अन्तिम फैसला सार्वभौमसत्ता सम्पन्न जनताले निर्वाचनको समयमा आफ्नो मताधिकार मार्फत व्यक्त गर्दछन् ।


ADVERTISEMENT

# # #


त्यही मत आफ्नो पक्षमा पार्न कुनै एक व्यक्ति वा केही सीमित व्यक्तिहरुको साधना मात्रै पर्याप्त हुदैन । तसर्थ धेरैभन्दा धेरै व्यक्तिहरुलाई यो महाअभियानमा सहभागी गराउनु आवश्यक छ । सहभागि गराउनका लागि प्रत्येक पार्टीले एउटा निश्चित विधि, प्रक्रिया र प्रणालीको व्यवस्था गरेको हुन्छ । सहभागिता बढाउने क्रियालाई नै हामी संगठन गर्ने भन्छौं । जुन पार्टीको संगठन बलियो, प्रभावकारी र चुस्त दुरुस्त हुन्छ त्यही पार्टीले निर्वाचन जित्ने सुनिश्चित हुन्छ ।

नेपाली काँग्रेस देशकै सबैभन्दा पुरानो र देश विदेशमा समेत संगठन भएको एउटा ऐतिहासिक राजनीतिक पार्टी हो । पछिल्लो निर्वाचनलाई हेर्ने हो भने पार्टीप्रति जनताको रुचि सकारात्मक र नेता तथा उम्मेद्वारप्रतिको रुचि नकारात्मक देखिन्छ । जसका कारण पार्टीले समानुपातिक तर्फ राम्रो मत ल्याए पनि प्रत्यक्ष तर्फ भने सन्तोषजनक परिणाम ल्याउन सकेन ।

के त्यसो भए नेपाली काँग्रेसको संगठन कमजोर भएकै हो त ? के काँग्रेसले नयाँ पुस्तालाई आकर्षित गर्न नसकेकै हो त ? के काँग्रेसले पुराना पुस्ताकालाई यथेष्ट न्याय र सम्मान दिन नसकेकै हो त ? के काँग्रेस आफ्ना सदस्यहरुमा उज्वल भविष्यको आशा र विश्वासको सञ्चार गराउन असफल भएकै हो त ? के काँग्रेसका नेतासँग पार्टीको गुमेको साख फिर्ता ल्याउने सामथ्र्य, दृष्टिकोण र ईच्छाशक्ति नै छैन त ? के काँग्रेसले आफ्ना कार्यकर्ताको राजनीतिक तथा गैरराजनीतिक भविष्यको सुरक्षा र देशको ऐतिहासिक अभिभारा पुरा गर्ने ल्याकत र हैसियत गुमाएकै हो त ? के काँग्रेस थलिएकै हो त ?

के काँग्रेसको विचार र बलिदान युग सान्दर्भिक थिएन ? एउटा विद्यार्थीले एउटा युवाले आफ्ना अग्रजलाई सोधेको छ तपाई भन्दा अयोग्य र असक्षमले पार्टीमा पटक पटक राम्रा अवसरहरु पाए, तपाईलाई अन्याय गरियो, हामी माथि यही नियती नदोहोरिएला भन्न सक्नु हुन्छ ? जहाँ राम्रालाई भन्दा हाम्रालाई पुरस्कृत गरिन्छ, जहाँ दण्डहिनता मौलाएको छ त्यहाँ हाम्रो भविश्य के ? किन नेपाली काँग्रेसमा लाग्ने ? यी र यस्तै प्रश्नहरुको जवाफ र समाधान खोज्न र दिन नेपाली काँग्रेसले सक्नु पर्छ ।

हामीले हाम्रा सदस्यहरु वा भनौं कार्यकर्ताको मनोबल, विश्वास तथा उर्जा बढाउन सकेनौं भने भविष्यमा पनि हाम्रो अवस्थाले उकालो चढ्न सक्दैन । पार्टीले लिएको नीतिले सबैको भलो र न्याय गर्छ भन्ने विश्वास कार्यकर्तामा नभएसम्म कार्यकर्ताको मनोबल, विश्वास र उर्जा माथि उठ्न सक्ने स्थिति देखिदैन । त्यसैले हामी भित्रको प्रणालीमा भएको खराबी तथा नीतिमा भएको त्रुटिलाई सच्याउनु जरुरी छ, जसका लागि आगामी मंसिर २८ गतेबाट हुने भनिएको पार्टीको महासमितिको बैठक कोशेढुङ्गा साबित हुनसक्छ ।

यहि सन्दर्भमा हामी हाम्रो राजनीतिक अनुभव र साथीहरुको मनोविज्ञानका आधारमा तपशिलका सुझावहरुलाई पार्टीले आफ्नो नीतिमा समावेश गरोस् जसले गर्दा जोसुकै व्यक्ति पार्टीको नेतृत्वमा आउँदा पनि खराब गर्न सक्ने छैन र अब उप्रान्त पार्टी भित्र नेताप्रधान युगको अन्त्य भएर नीतिप्रधान युगको प्रारम्भ हुने छ भन्ने विश्वास वृद्धि हुन सकोस् भन्ने ईच्छा, चाहना र मनोभावना व्यक्त गर्दछौं ।

१. तोकिएको मापदण्डको अनुशासनमा रहेर टिकट वितरण गर्न केन्द्र देखि स्थानीय ईकाइसम्म एउटा शक्तिसम्पन्न प्रणाली र संयन्त्रको व्यवस्था मिलाइयोस् । जसले गर्दा टिकट वितरण पारदर्शी र न्यायपूर्ण बन्न सकोस् ।

२. टिकट वितरण कार्य मनोनयन दर्ताको एक महिना अघि सम्पन्न गर्ने बाध्यकारी व्यवस्था गरियोस् । जसले गर्दा आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न र चुनावी रणनीति बनाउन पर्याप्त समय उम्मेद्वारलाई मिलोस् ।

३. एउटै व्यक्तिले निरन्तर दुई कार्यकाल भन्दा बढी पार्टीको कुनै पनि तहको नेतृत्व गर्न नपाउने व्यवस्था मिलाइयोस् । जसले गर्दा भविष्यमा अर्को योग्य र सक्षम साथीले अवसर पाउने सुनिश्चित होस् ।

४. केन्द्र तथा प्रदेश समितिका वर्तमान तथा पूर्व पदाधिकारी र वर्तमान सदस्यबाहेकलाई तोकिएको पटक भन्दा बढी कुनै पनि निर्वाचन प्रणालीको उम्मेद्वार बन्न नपाउने व्यवस्था मिलाइयोस् ।

५. स्थानीय निर्वाचनमा दलित आरक्षण बाहेकको पदमा एउटै व्यक्ति दुई पटक भन्दा बढ्ता उम्मेद्वार बन्न नपाउने व्यवस्था मिलाइयोस् ।

६. जिल्ला, प्रदेश तथा केन्द्रीय समितिमा एउटै व्यक्तिले दुई पटकभन्दा बढी आरक्षणको सुविधा लिन नपाउने व्यवस्था मिलाइयोस् ।

७. जिल्ला तथा स्थानीय ईकाइको नेतृत्वले चालु कार्यकाल कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार हुन नपाउने व्यवस्था मिलाइयोस् । जसले गर्दा नेतृत्वको सम्पूर्ण सामर्थ्य पार्टीको उम्मेद्वारलाई जिताउनमा लागोस् ।

८. जो व्यक्तिको नाम जुन वडाको मतदाता नामावलीमा समावेश छ । उसको पार्टी सदस्यता पनि सोहि वडा बाहेक अन्यत्र समावेश गर्न नपाइने व्यवस्था मिलाइयोस् । जसले प्रतिनिधि आउनका लागि ठाउँ सारी गर्ने र म्यादी सदस्यताको समस्यालाई निर्मूल पार्न मद्दत गर्दछ ।

९. विदेशमा बस्ने नेपालीको हकमा विदेश तथा स्वदेश दुवै ठाउँमा सदस्यता लिन पाउने व्यवस्था मिलाइयोस् ।

१०. सदस्यहरुको अभिलेख, पार्टीको नीति तथा कार्यक्रम डिजिटल प्रणालीमा राख्ने व्यवस्था मिलाइयोस् । जसले गर्दा अभिलेख राख्ने, अद्यावधिक गर्ने र अभिलेख खोज्ने कार्य सरल र सहज होस् ।

(राउत  नेपाली काँग्रेसका युवा नेता हुन्)