• डा. खगेन्द्र अधिकारी, नेता, नेपाली काँग्रेस

 

तपाईका प्रतिस्पर्धी चुनाव जितेर अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ । तपाईले सरकारका गतिविधि कसरी हेर्नु भएको छ वा तपाईको प्रतिस्पर्धीको काम गराईलाई के भन्नुहुन्छ ?


ADVERTISEMENT


मेरा प्रतिस्पर्धी उम्मेदवार भनौँ, उहाँ विजयी भएर प्रधानमन्त्री हुनुभयो । मैँले सामाजिक सञ्जाल तथा पत्रपत्रिका मार्फत उहाँलाई बधाई दिएँ । एक किसिमले म खुसी नै भएँ, यस कारण कि अब मेरो निर्वाचन क्षेत्रका जनताको गुनासो सुनुवाई हुन्छ । आफ्नै जनप्रतिनिधि देशको प्रधानमन्त्री बनेकाले यस क्षेत्रको विकास तीव्र गतिमा हुन्छ भन्ने सोचेको थिएँ । तर निर्वाचनमा उहाँहरुले आफ्ना घोषणा पत्रमा लेख्नु भएका कुराहरु र सरकार बनिसके पछि गरेका कामहरुबीच आकाश जमिनको फरक छ । निर्वाचनमा उहाँले बोल्दै गर्दा देश कायापलट नै हुन्छ कि भन्ने भान जनतालाई परेको थियो । विश्वास गरेर जनताले मतदान गरे । उहाँ प्रधानमन्त्री त हुनु भयो तर, जनताका आशामा झन तुसारापात भयो । सरकार अत्यन्तै उल्टो दिशातिर हिँडिरहेको मलाई भान भएको छ ।


ADVERTISEMENT

# # #


कसरी ?

म तपाईलाई दर्जनौँ उदाहरण दिन चाहन्छु । उहाँले बोलेका कुराहरु सामाजिक सञ्जालमा भाइरल भए । त्यो तपाईलाई थाहा छँदैछ । चुनाव जितेर सरकार बनेलगत्तै हामी वृद्धवृद्धालाई हातहातमा मासिक पाँच हजार दिन्छौँ भन्नु भएको थियो । उहाँले दालभात खानकै लागि कुनै काम गर्नुपर्दैन, सुतेर खान पाइन्छ तर धनी हुनेभए मात्रै काम गर्नुस् भनेर भन्नु भएको थियो । ती कुराहरु आज पूरा भएका छन् कि छैनन् ? त्यस दिशातिर सरकार गएको छ कि छैन ? अर्को ३३ किलो सुन प्रकरणमा सरकार चुकेको छ । यस्तै एउटा विश्व विद्यालयको कुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई एउटा सेमिनारमा सहभागी हुन विदेश जाँदैगर्दा अपहरणको शैलीमा एरपोर्टबाट फर्काइयो ।

यस्तै, गृहमन्त्रीले वीर अस्पतालका डाक्टरलाई आफ्ना कार्यकर्ताहरुले भनेजस्तो रिपोर्ट बनाइदिन दबाब दिनुभयो । यस्तै ठेकेदारप्रति बोलेका कुरा र लागु गर्न नसक्ने गैरजिम्मेवारीपन तपाईहरुले हेर्नसक्नुहुन्छ । अर्को महत्वपूर्ण भनेको एउटा बालिका बलात्कृत भएको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सरकारले सकेको छैन । सिण्डिकेट अन्त्यको कुरा यसै सेलाएर गयो । यस्तै सञ्चारमन्त्रीले आफूलाई नराम्रा प्रश्न सोध्यो भनेर टेलिभिजन कार्यक्रम नै बन्द गरिदिनुभयो । ‘चिउरा भए दही र चिनी मागेर खान्थेँ’ भने जसरी कुनै योजना बिना प्रधानमन्त्री हावाका भरमा विभिन्न गफ दिइरहनु भएको छ ।  यसरी सरकार निकम्मा साबित हुँदै गइरहेको छ । सस्तो लोकप्रियताका लागि जे बोलेपनि हुन्छ भन्ने मानसिकता गलत हो । ५० अर्ब भन्दा माथिका आयोजना बिनाकुनै प्रतिस्पर्धा ठेक्का दिने कुरा गर्नु भएको छ । नियम मिचेर आखिर कसका लागि दिइँदैछ ? वाइडवडी खरीदमा २४ अर्बमा ६ अर्ब भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले भनेको छ । हामीले नै बनाएको संविधानले देश धर्मनिरपेक्ष भनेको छ । तर, सरकार संविधान उल्लंघन गरेर आफै विवादास्पद धार्मिक संस्थाको धर्म प्रचारका लागि आयोजक बन्यो । अर्थतन्त्र धराशायी छ । विकास यसरी हुन्छ ? उहाँको राष्ट्रियता आफू अनुकुलको राष्ट्रियता रहेछ ।

 

सरकारप्रति यतिधेरै असन्तुष्टि किन ?

असन्तुष्टि होइन, मैँले भएको कुरा भनेको हुँ । देश धराशयी हुने स्थितितर्फ गइरहेको छ ।

अब तपाईको पार्टीतिर फर्किऔँ । यतिबेला कांग्रेसको महासमितिको बैठक चलिरहेको छ । कांग्रेसलाई पुर्नजागरण गर्ने भन्ने कुरा चलिरहँदा यो महासमिति बैठकले त्यसको सुरुवात गर्ला ?

पक्का हुन्छ । नेपाली कांग्रेस अन्य पार्टी जस्तो भूमिगत संगठनबाट बनेको होइन । हाम्रा छलफल गोप्य होइन, सबैले थाहा पाउनेगरी हुन्छन् । सहमतीबाट निष्किएको निर्णयबाट नेपाली कांग्रेस कहिल्यै पनि पछाडी फर्किएको छैन । अहिले हामी लामो छलफल गरिरहेका छौँ । त्यसले कांग्रेसलाई नयाँ दिशा दिइरहेको छ । त्यस कारण अब कांग्रेसको पुनर्जागरण पक्का हुन्छ ।

निर्वाचनको परिणामले कांग्रेस र जनताबीचको दूरी टाढिएको जस्ते देखायो । यो दूरीलाई कम गर्नका लागि पार्टीले, नेताहरुले के गर्नुपर्छ ?

कांग्रेस जनतासंग टाढिएको छैन, त्यो देखिएको मात्रै हो । किनभने जनतामा असीमित आकांक्षा छन् । ती आकांक्षाहरु पूरा भइदिए हुन्थ्यो भन्ने हुन्छ । जति गरिबी भयो त्यती आकांक्षा बढ्दै जान्छन् । नेपालका कम्युनिस्टहरुले गरिबीको दुरुपयोग गरे । उनीहरुले जनतालाई आश्वासन बेचे । खानकै लागि काम गर्नु नपर्ने देखि वृद्धभत्ता ५ हजार पुर्याउनेसम्मका आश्वासन उनीहरुले बाँडे । जनता त्यतैतिर लागे । त्यस कारण कांग्रेसलाई जनतासंग विमुख गराउने काम कम्युनिस्टले गरेको हो । कांग्रेससंग जनता विमुख भएका होइनन्, केही समय टाढिएका हुन् । अब जनताले बुझि सकेका छन् ।

तर तपाईहरुले आत्मलोचना गर्न त पर्ला नि ?

गल्ती भयो भने आत्मलोचना गर्नैपर्छ । हाम्रा कमीकमजोरी भएकै हुन् । तर हाम्रा कमजोरी भन्दा पनि एमाले र माओवादीबीचको एकताले निर्वाचनमा सबैभन्दा ठूलो असर पारेको हो । भोटको प्रतिशत नेपाली कांग्रेसमा कम भएकै छैन समानुपातिकमा पनि र प्रत्यक्षमा पनि । एक जना पहलमान छ भने अर्कोतिर दुई जना लुते भएपनि लडाउन त उनीहरुले नै लडाउछन् नि । कांग्रेसलाई त्यस्तै भएको हो ।अन्य कुराहरु हाम्रो तर्फबाट पनि भएका छन् । दुई पार्टी एकातिर मिल्दा हाम्रोमा तयारी भएन । नेता तथा कार्यकर्ताहरु हतोत्साहित भए । विगतमा भएका गल्ती कमीकमजोरीलाई सच्याएर अब हामीले एउटा सोच बनाएर अगाडि बढ्नुपर्छ ।

अर्को कुरा तपाईले कांग्रेसको झण्डा परिवर्तन गर्नुपर्छ भन्ने कुरा उठाइराख्नु भएको छ । पार्टीलाई नै मजबुद बनाउन लाग्नुपर्ने अवस्थामा तपाइ झण्डा परिवर्तन गर्ने भन्दै हुनुहुन्छ ?

पार्टीलाई सबैतिरबाट शुद्धिकरण गर्नुपर्छ । सैद्धान्तिक, सांगठानिक र वैचारिक गतिविधिलाई पनि ध्यान दिनुपर्छ । निश्चित समयमा कांग्रेसको नेतृत्व पनि परिवर्तन हुन्छ । नीति तयार गर्ने एउटा संस्था भनेको हाम्रो महासमिति हो । यसले पार्टीका विभिन्न दृष्टिकोणलाई प्रस्तुत गर्छ । त्यस कारण यो झण्डाको बारेमा नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति समक्ष साउन ३१ गते प्रस्ताव राखेको हुँ । यो झण्डा परिवर्तन भन्ने होइन, यसलाई गलत रुपमा लिने वातावरण बन्न सक्छ । यसलाई परिमार्जन गर्न खोजिएको हो ।

परिमार्जन चाहिं किन गर्नुपर्ने ?

झण्डा भनेको एउटा संस्थाको प्रतिकात्मक चिन्ह हो । त्यसले सम्पूर्ण कुराहरु बोलोस् भन्ने हो । दलीय व्यवस्था, प्रतिस्पर्धात्मक राजनीति र संसदीय प्रणाली अन्तर्गत चुनावमा भाग लिइसकेपछि त्यही चुनाव चिन्हलाई झण्डामा राख्दा प्रष्ट हुन्छ भन्ने मेरो तर्क हो । यसका फाइदा अनेक छन् । नेपाली कांग्रेसको झण्डाको इतिहास अलग्गै छ । यो चार तारा अंकित झण्डा नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीच एकता हुँदा नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा हो । एकता हुँदाखेरि नेपाल प्रजातन्त्र कांग्रेसका नेताहरुले विशेषगरी सुवर्ण शमशेरले क्रान्तिलाई सशक्त ढंगले अगाडि बढाउन हजारौँ झण्डा बनाइसक्नु भएको थियो । ती मध्ये अहिलेको चारतारे झण्डा छान्नु भएको हो । तर यस विषयमा थप छलफल गर्ने पनि त्यो बेला सहमति भएको थियो ।

मैँले यो झण्डा परिवर्तन गर्न खोजेको होइन । कांग्रेसको चुनाव चिन्ह रुख अत्यन्त महत्वपूर्ण संकेत हो । मानव जीवनलाई नभइ नहुने भनेको रुख हो । यस्तै नेपालका चार सहिदहरु मध्ये शुक्रराज शास्त्रीलाई टेकु पचलीको खरीको रुखमै झुण्ड्याएर मारिएको छ । त्यस कारण पनि हाम्रा लागि रुखको विशेष महत्व छ । त्यस कारण चारतारा भित्र नै रुखलाई राख्नुपर्छ भनेर मैँले प्रस्ताव राखेको हुँ ।

यसले के फाइदा गर्छ ?

धेरै छ नि । जस्तो निर्वाचनका बेला दुईवटा झण्डा बनाइराख्नु पर्दैन । एउटै झण्डाले प्रतिनिधित्व गर्छ । मतदातालाई बुझ्न सजिलो पनि हुन्छ । नयाँ झण्डा भनेर जनतालाई बुझाइरहनु पनि पर्दैन । चार तारासंगै रुख पनि भयो भने जनतालाई चुनावका बेला सम्झिन पनि सजिलो हुन्छ । झण्डाको बारेमा कसैलाई बुझाइरहन पनि जरुरी हुँदैन । रुखको महत्वलाई पनि दर्शाइदिने र चार ताराले झल्काउने हाम्रो स्वतन्त्रताका कुराहरु छँदैछन् । त्यस कारण झण्डालाई परिष्किृत गर्न खोजिएको हो ।

यो प्रस्ताव क – कस्लाई सुनाईसक्नु भयो ?

पार्टी सभापति, महामन्त्रीदेखि लिएर सबै नेताहरुमा यो कुरा राखेको छु । अन्य देशमा गरिएका अभ्यासहरुका बारेमा पनि मैँले उहाँहरुलाई बताएँ । जिल्लाका सभापतिहरु, सांसदहरु लगायत नेता कार्यकर्तालाई पनि मैँले लिखित रुपमा यसको बारेमा बुझाएको छु । प्रतिक्रिया अन्यन्तै राम्रो आएपनि अहिले नै नगरिहालौँ कि भन्ने छ ।  धेरैले यो प्रस्ताव मन पराउनु भएको छ । विपीप्रतिको अत्याधिक श्रद्धाका कारण किन परिवर्तन गर्नुपर्यो भन्ने खालको प्रतिक्रिया केहीबाट पाएँ । दलीय प्रतिस्पर्धामा गइसकेपछि हामीले जे कुरा राम्रो हुन्छ त्यतापट्टि लाग्नुपर्छ ।

पार्टीलाई गुट उपगुटले गाँजिरहँदा अब त्यसबाट कांग्रेस उम्किन्छ ? तपाईलाई के लाग्छ ?

नेपाली कांग्रेस बहस मन पराउने पार्टी हो । विचार विवेचना गर्ने पार्टी हो । गुट उपगुट समग्रमा नराम्रो कुरा होइन । एउटा घर बनाउँदा छोराले एउटा कुरा भन्छ भने छोरीले अर्कै कुरा भन्ली । श्रीमतीले भान्सा कोठा यहाँ हुनुपर्छ, सुत्ने कोठा यहाँ हुनुपर्छ भन्लिन् । गुटउपगुट त त्यहाँ पनि हुन्छ नि ? तर, गुट उपगुटले घर नै नबनाउने स्थितिमा पुर्याउनु हुँदैन । त्यस कारण सबैको विचार एउटै हुनुपर्छ भन्ने छैन । आफूलाई राम्रो लागेको विचार र मानिस उसले अंगाल्न सक्छ । तर, गुट उपगुट संगठनको हितका लागि हुनुपर्यो । त्यस कारण कांग्रेसलाई अप्ठ्यारो परेको बेला नेताहरु एक ठाउँ आएकै छन् नि । महासमितिको बैठकले कांग्रेसलाई एउटा गति दिएर जान्छ ।

तपाईले पीएचडी पनि गर्नुभएको छ । पढेर पीएचडी गर्न गाह्रो रहेछ की जनताको मन जितेर प्रतिनिधित्व गर्न ?

मलाई सजिलो लाग्यो होला, त्यो अलग्गै कुरा हो । तर, पढ्नु पनि गाह्रै कुरा हो । तर मेरो हकमा पीएचडी गर्नुभन्दा राजनीति गर्न गाह्रो लाग्यो । किनभने, पीएचडीमा कुनै विषयवस्तुमा त्यससंग सम्बन्धित खोजहरुलाई ल्याएर आफ्नो धारणा अनुसार मिल्यो मिलेन ? निष्कर्ष के हुन्छ भनेर घोत्लिएर गरिने कुरा हो । तर राजनीतिमा त हजारौँ जनताका फरक फरक आकांक्षालाई पूरा गर्नुपर्ने हुन्छ । आफूलाई जनताका आकांक्षामा ढाल्नुपर्ने विषय वस्तु हो । त्यस कारण मेरो हकमा राजनीति गाह्रो हो ।

प्राध्यापन छाडेर राजनीतिमा केका लागि आउनु भयो ? केले राजनीतिमा तपाईलाई आकर्षित गर्यो ?

यो एकदमै महत्वपूर्ण प्रश्न हो । हुँदाखाँदाको पेन्सन हुने जागिर छाडेर आयो भनेर मलाई गाउँमा धेरैजनाले गाली गर्नुहुन्छ । राजनीति गर्नु नै थियो भने त्यत्रो के खान पढेको भनेर भन्नुहुन्छ । पहिले देखि नै झण्डा बोक्न लागेको भए भैहाल्थ्यो नि भन्नुहुन्छ । आफूलाई फाइदा हुने, पेशा बनाउने भनेर म राजनीतिमा आएको होइन । जसले राजनीतिलाई फाइदा हुने विषय वस्तु ठान्नुभयो उहाँहरुले राजनीति होइन, अपराध गरिरहनु भएको छ ।

त्यो अपराधको भारी बोक्न म आएको होईन । । यो स्वर्गजस्तो देशलाई हामीले उपयोग गर्न सकेनौँ । हामीले हाम्रा सम्पत्तिहरु प्रवद्र्धन गर्न सकिरहेका छैनौँ । राजनीति नसुध्रिएर नै त्यो भएको हो । राजनीतिमा दुईचार अक्षर पढेको मानिस पनि पुग्नुपर्छ र देशलाई नेतृत्व गर्नुपर्छ भन्ने हो । मलाई सामान्य दालभात खानका लागि पुग्छ अब जनताका लागि काम गर्नुपर्छ भनेर नै म राजनीतिमा आएको हुँ ।

अन्त्यमा के भन्नुहुन्छ ?

राजनीति त मैँले विद्यार्थी हुँदादेखि नै गर्दै आएको हुँ । प्राध्यापन पेशमा हुँदा पनि बचेको समय राजनीतिलाई दिएँ । 0६२- ६३ सालको आन्दोलनमा पनि हामीले आफ्नो पेशागत मयार्दालाई ख्याल राख्दै हातमा कालो पट्टी बाँधेर रत्नपार्कमा धर्ना दिने काम गरेकै हौँ । अहिले जेल बसेर आन्दोलन गर्नुपर्ने अवस्था छैन । अब हामीले केबल देशको विकासका लागि लाग्नुपर्छ । अब आउने युवापिढी समृद्ध बनुन् । त्यसका लागि हामीले ठूलो आन्दोलन गर्नु नपरोस् । सबैले देशप्रतिको आफ्नो कर्तव्य बिर्सनु हुँदैन । अब मेरो जीवन राजनीति मार्फत देश र जनताका लागि समर्पण गरेँ ।