काठमाडौं । डा. गोबिन्द केसीको अनसनको निहुँमा नेपाल चिकित्सक संघ नै बिभाजित बनेको छ । संघको एक पक्षले रिले अनसन गर्ने बताए पछि आन्दोलनका कार्यक्रममा वामपन्थी चिकित्सक सहभागी नहुने भएका छन् । डा. गोविन्द केसीले राजनीतिक माग राखेर अनसन बसेकाले यसपटकबाट केसीको अनसनमा साथ दिन नसकिएको नेकपा निकट चिकित्सक संगठनले प्रष्ट पारेको छ ।


ADVERTISEMENT


नेपाल चिकित्सक संघ चिकित्सकहरुको छाता संगठन हो । तर यसपटक चिकित्सक संघमै पनि आन्दोलन गर्ने र नगर्ने सन्दर्भमा विवाद भएको छ । गत बिहीबार विवाद बढ्दा हात हालाहालको अवस्था आएको भिडियोसमेत सार्वजनिक भएको छ ।


ADVERTISEMENT

# # #


चिकित्सक संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले संघको रिले अनसन र अस्पताल बन्द गराउने प्रकारका कुनै पनि आन्दोलनमा सहभागी नहुने बताएकी छन् । उनले सार्वजनिक रुपमै डा. केसीको अनसन नेपाली कांग्रेसको एजेण्डामा गइसकेको भन्दै चिकित्सक संघ त्यसमा फस्न नहुने बताएकी हुन् ।

नेकपा निकट राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेलले डा.केसीका माग स्वास्थ्यसँग सम्बन्धित हुँदासम्म आफूहरुले साथ दिए पनि यसपटक राजनीतिक एजेण्डा बोकेकाले समर्थन गर्न नसकिएको बताए । उनले वामपन्थी चिकित्सकको रिले अनसनमा सहभागिता नहुने जानकारी दिए ।

पौडेलले भने ‘हामीले यसअघिसम्म डा।केसीलाई साथ दिएका हौं,किनकी उहाँका माग चिकित्सा क्षेत्रसँग सम्बन्धित थिए । अहिले संसदले जनमुखी बिधेयक पारित गरिसकेको सन्दर्भमा उहाँ नेपाली कांग्रेसको लागि अनसन बसिदिनु भएको जस्तो छ । हामीले यस्तो राजनीतिक एजेण्डामा समर्थन गर्न सक्ने भएनौं र अस्पताल बन्द गरे प्रतिकार पनि गर्छौं ।’

चिकित्सक संघ नेपाली कांग्रेसको निर्देशन अनुसार आन्दोलनमा गएकाले यो आन्दोलनमा कार्यकर्ता बाहेक अरु पेशाकर्मी सहभागी नहुने पौडेलले बताए । पौडेल वीर अस्पतालमा कार्यरत छन् । उनी नेतृत्वको संगठनले संघका कुनै कार्यक्रममा सहभागी नहुन चिकित्सक र स्वास्थयकर्मीहरुलाई अनुरोध गरेको छ ।