धरान – आफ्नो विभागीय टोलीको अवस्था थप सुधार गर्न अभियान सुरु गरेको नेपाल प्रहरीले खेलकुद क्षेत्रसंग जोडिएका व्यक्तिहरुबीच अन्तरक्रिया गरेको छ । नेपाल प्रहरी खेलकुद समिति काठमाडौँ र समुदाय प्रहरी जिल्ला समिति सुनसरीको संयुक्त आयोजनामा धरानमा जिल्लाका विभिन्न खेलका प्रशिक्षक र खेलाडीहरुसँग नेपाल प्रहरीले अन्तरक्रिया गरेको हो ।


ADVERTISEMENT


प्रहरी खेलकुद समितिका सदस्य सचिव रहेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातको उपस्थिति रहेको अन्तरक्रियामा खेलकुदको क्षेत्रमा गरेको योगदान र कमीकमजोरीको बारेमा छलफल भएको छ । साथै प्रहरी खेलाडीहरुको खेलको अवस्था, सुधार गर्नुपर्ने पक्ष, समुदायसँगको सहकार्यलगायत विषयमा समितिले खेलकुद प्रशिक्षक तथा खेलाडीहरुबाट सुझाव संकलन भएको छ ।


ADVERTISEMENT

# # #


एआइजी बस्न्यातले विभागीय टिमप्रतिको धारणा जनस्तरबाट बुझ्नको लागि अभियान चलाएको बताए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका एआइजी बस्नयातले नेपाल प्रहरीले खेलकुदमा थप योगदान गर्नको लागि ३ वर्षे रणनीतिक योजना अघि सारिरहेकाले जनस्तरबाट सुझाब संकलन अभियान चलाइएको बताए ।

‘प्रहरीको बारेमा के सोच्नु हुन्छ ? प्रहरीको खेलकुदलाई तपाइले टिप्पणी गर्नुपर्यो भने के भन्नुहुन्छ, के कमजोरी छ, कहाँ सुधार गर्नुपर्छ ? त्यो सुझाव संकलन गर्न आएको हो,’ एआइजी बस्न्यातले भने, ‘हामीले ३ वर्षे रणनीतिक कार्ययोजना बनाउदैछौ, त्यही सुझाव लिन आएको हुँ ।’

कराँते प्रशिक्षक दिपेश शाक्यले ‘ग्रास लेवल’बाट खेलाडीहरुको उत्पादन हुने हुनाले विद्यालयस्तरबाट नै खेलाडी उत्पादनमा प्रहरीले ध्यान दिनुपर्ने बताए । राम्रो खेलाडीलाई प्रहरीले विभागीय टिममा लगेर खेलाएपनि रोजगारीको ग्यारेन्टीसमेत गर्नुपर्ने बताए । खेलाडीको भविष्य बनाउनको लागि विद्यालयस्तरमा नै खेलकुदमा लगानी गर्नुपर्ने बताए ।

नेपाल बास्केबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले नेपाल प्रहरीले खेलकुदको विकासको लागी स्थानीय तहसंग सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । यस्तै धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारीले धरानमा खेलकुद समिति गठन भएको र पुर्वाधारहरु पनि निर्माण भइरहेको बताइन् । प्रहरी र स्थानीयतह बीच सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

यसैगरी, धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूले खेलाडीहरुमा हुनपर्ने कला कौशल विभागीय टिममा रहेको बताए । सामुदायीक विद्यालयमा पनि प्रहरीले त्रैमासिक, अर्धवार्षिक रुपमा विभन्न खेलमा प्रशिक्षण दिएर सहयोग गर्न आग्रह गरे ।

सुझाव दिनेक्रममा अधिकांशले नेपालको खेलकुद क्षेत्रमा नेपाल प्रहरीले धेरै योगदान पुर्याएको बताउदै प्रशंसा गरेपनि कमिकमजोरी रहेको समेत औल्याएका थिए । इटहरी उपमहानरपालिकाका मेयर द्धारिकालाल चौधरी, संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुख एसएसपी सरद खत्री लगायतले अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएका थिए ।