– ‘छुट्टै मधेशको बारेमा मात्रै सोचेर पार लाग्दैन, अब राष्ट्रिय आन्दोलन थाल्छौँ’


ADVERTISEMENT


– ‘माग पूरा नभएसम्म सरकारमा जाने कुरै आउँदैन’


ADVERTISEMENT

# # #


राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसंग समसामयिक राजनीतिक विषयमा हिमालयपोष्टले गरेको कुराकानीको सम्पादित अंश :

अहिले तपाई राजपाको नेतृत्वमा हुनुहुन्छ । मधेशको मुद्दा अहिले कहाँ पुग्यो ? पार्टी नेतृत्व कसरी चलाइरहनु भएको छ ?

मधेशको मुद्दा २५-३० वर्षदेखि हामीले नै उठाएका छौँ । पटकपटक आन्दोलन गरिएको हो र धेरै जनाले शाहदत पनि प्राप्त गरे । थरुहठले पनि आफ्नो पहिचानका लागि आन्दोलन गरेको हो । तरपनि त्यो आन्दोलनले सफलता प्राप्त गर्न सकेको छैन । पहाडका जनजातीहरुले पनि विभिन्न किसिमले विभिन्न समयमा सशक्त आन्दोलनहरु गरे । उनीहरुले पनि पहिचान र अधिकारका सवालहरु प्राप्त गर्न सकेनन् । यो देशमा सामाजिक उत्पीडनमा परेका हिमाल, पहाड र तराईका जनता आ-आफ्नो ठाउँबाट आन्दोलनमा उत्रिए । तर ती सबै आफ्नो लक्ष्य अनुसार पूर्ण रूपमा सफल हुन सकेनन् । यहाँसम्म कि १० वर्षे माओवादीको जनयुद्धमा उठाइएका मुद्दाले पनि त्यो अनुसार काम गर्न सकेनन् ।

मैँले ३० वर्षसम्म पहिचान र अधिकारको राजनीति गरेँ । आजको दिनमा त्यसको निष्कर्ष के हो भने सामाजिक उत्पीडनबाट पीडित सबै जातजाती र भूगोलका जनताले यसरी आन्दोलन गरेर अधिकार पाउँदैन र मुलुकले निकास पाउँदैन । मुलुक अनिर्णयको बन्धक बनिरहन्छ । द्वन्द्व रहिरहन्छ र त्यसले मुलुकलाई आर्थिक प्रगतीतर्फ जान अवरोध गरिरहन्छ। समृद्धिको सपनामा बाधा आइरहन्छ । जुन मुलुकमा आन्तरिक द्वन्द्व रहन्छ त्यसले मुलुकका जनतालाई गरिबीबाट मुक्ति दिलाउने एजेण्डा नै बनाउन सक्दैन ।

प्रकृतिले हामीलाई विकासको लागि सबथोक दिएको छ । दुनियाँको सम्पन्न देशको दर्जामा नेपाल पुग्नुपर्ने तर सबैभन्दा गरिब राष्ट्रको समूहमा हामी छौँ । पचासौँ लाख युवा रोजगारीको खोजीमा विदेशमा छन् । यी सबैको मूल कारण भनेको आन्तरिक द्वन्द्व हो । सामाजिक उत्पीडन हो । सबै जनताप्रति राज्यले समान व्यवहार नगरेकोले हो ।

प्रत्येक १० वर्षमा मुलुकमा द्वन्द्व भइरहने र मुलुक आर्थिक एजेण्डामा प्रवेश नै नगर्ने, सबै थोक छ तर त्यसको प्रयोगका लागि नीति नै नबन्ने अवस्था छ । देश विकासका लागि राजनीतिक स्थायित्व हुन जरुरी छ । मैँले भन्न खोजेको के भने बहुदल आइसकेपछि पनि थुप्रै आन्दोलन भए । तर कुनै पनि आन्दोलन टुंगोमा पुगेन । अब मधेशको बारेमा मात्रै सोचेर पार लाग्दैन । सबैले छुट्टा छुट्टै सोचेर वा आन्दोलन गरेर समय मात्रै बर्बाद भएको छ, जनधनको क्षतीमात्रै भएको छ । मेरो निष्कर्ष भनेको के हो भने नेपालमा अब राष्ट्रिय आन्दोलनको आवश्यकता छ ।

भनेपछि तपाई अर्को एउटा फरक किसिमको आन्दोलनमा हुनुहुन्छ ?

तपाईले ठिक भन्नुभयो । सबैलाई मिलाएर राष्ट्रिय मुक्ति आन्दोलनको तयारीमा हामी छौँ ।

त्यसमा कुनकुन शक्तिहरु सामेल हुन्छन् ? आन्दोलनको मोडालिटी के हुन्छ ?

एक त हामी मधेशमै तितरवितर भएका पार्टीहरु, हामी यही परियोजनाका लागि पनि एक भएका हौँ । बिना शक्ति राज्यले अधिकार पहिचान दिँदैन । जनजातीका आन्दोलनहरु, थरुहटसंग सम्बन्धित, दलितसंग सम्बन्धित लगायत पहिचान र अधिकारका लागि भएका आन्दोलनका नेतृत्वहरुलाई एकिकृत गर्दै बहुल राष्ट्रिय राज्य स्थापना गर्नेतर्फ हामी अग्रसर छौँ ।

संविधान संशोधनको आश्वासन पाएपछि तपाईहरुले अहिलेको सरकारलाई समर्थन गर्नु भएको थियो । अब त्यतातिरको अभियान के हुन्छ ?

नेपालको इतिहासमै यस्तो सरकार एकदमै कम बनेका छन् । दुई तिहाईको सरकार जनताले त्यसै दिएको होइन । कम्युनिस्ट पार्टी एमाले र माओवादीले नारा लगाएका थिए, शान्ति स्थिरताको लागि दुई तिहाई चाहिन्छ । समस्या समाधानको लागि दुई तिहाई चाहिन्छ । संविधान संशोधनका लागि दुई तिहाई चाहिन्छ । अहिले जनताले त्यो दुई तिहाईको शक्ति दिएका छन् । तर त्यो अनुसार काम भइरहेको छैन । अपेक्षा अनुसार काम गर्न नसकेकाले जनता दिनप्रतिदिन निराश बन्दै गइरहेका छन् ।

सरकारले ल्याएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराले जनता सुखी भए न त देश समृद्ध भयो । रातारात समृद्ध नेपाल बन्दैन सबैलाई थाहा छ । तर त्यो बाटोमा त हिड्नु त पर्यो नि ? भावनात्मक रुपमा जनतालाई सुखी बनाउन सक्नुपर्यो ।  जनतालाई गोली ठोकेर संविधान बनाउँदा सुखी नेपाली हुन्छ ? जसरी जनता निराश छन, राष्ट्रिय जनता पार्टी पनि त्यही अवस्थामा छ । हामीलाई हाम्रा एजेण्डामा सहयोग गर्ने आश्वासन पाएपछि सर्मथन गरेका थियौँ । तर, आश्वासन अनुसार काम हुन सकेन । अब हाम्रो धैर्यताको बाँध कुनैपनि बेला टुट्नसक्छ ।

अर्को कुरा तपाईका एकजना सांसद रेशम चौधरी अहिले पनि हिरासतमा छन् । यसमा के भन्नुहुन्छ ?

अत्याधिक दबाब बढाउँदाखेरि मात्रै जनताको मतप्राप्त रेशम चौधरीलाई शपथ खुवाइएको छ । तर, फेरिपनि जेलमै राखिएको छ । अहिले पनि यो शक्तिशाली सरकारले जनताको समस्या समाधान गरोस् भन्ने हामी चाहन्छौँ । जनमतको प्रयोग जनताको हितमा होस् भन्ने हो । आन्दोलनका लागि आन्दोलन र विरोधका लागि मात्रै विरोध गर्नुपर्ने मनस्थितिमा हामी छैनौँ । ६ महिनासम्म विगतमा हामीले आन्दोलन गर्योँ । नाकाबन्दीसम्मै पुगियो । तर अन्तिममा त जनताले नै दुःख पाए । आन्दोलनकारी पनि अप्ठ्यारोमा परे । मलाई समेत मार्ने प्रयास गरेर टाउको फुटाए । सरकारले चाह्यो भने भोलि नै रेशम चौधरी र लक्ष्मण थारु रिहाई हुनसक्छ ।

भएन भने के गर्नुहुन्छ ?

यदि भएन भने त संघर्ष बाहेक विकल्प छैन । मैँले यसअघि नै भनिसकेको छु । रेशम चौधरी भनेको थारुहट आन्दोलनको नेता हो । उसले पहिचान र अधिकारको लागि आन्दोलन गरेको हो । आन्दोलन गर्नु अपराध हो भने यो मुलुकमा कुन नेताले अपराध गरेन ? कुन पार्टीले गरेन ? टिकापुर घटनामा सुरक्षाकर्मीसहित एकजना अवोध बालक मारिए । त्यसमा हामी दुःखी छौँ । तर, त्यस्ता आन्दोलन त नेपालमा कति भए कति ! प्रचण्डले गरेको आन्दोलनमा त सुरक्षाकर्मीसहित १७ औँ हजार मानिस मारिएका हुन् । यदि रेशम चौधरी अपराधी हुन् भने प्रचण्ड पनि अपराधी हुनुपर्ने होइन ? प्रचण्ड पनि जेलमै बस्नुपर्थ्यो । तर उनी प्रधानमन्त्री भए नि ! भनाईको मतलब जनताको लागि आन्दोलन गर्ने अपराधी हुँदैन । अरुले आन्दोलन गर्दा क्रान्तिकारी हुने अनि थारुले गर्दा जेल कोच्नुपर्ने ? मुलुकमा दुईवटा ब्यवहार हुनै सक्दैन र मान्य हुँदैन । हामी चेतावनी दिन चाहन्छौँ, कुनैपनि बेला सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ र पार्टी विरोधमा जानसक्छ ।

उनको रिहाईका लागि के कस्तो कुरा भइरहेको छ सरकारी पक्षसंग ?

उनलाई पुनः जेल लगिएपछि प्रधानमन्त्री लगायत सरकारी निकायसंग पटकपटक यो अपराध नगर्नुस् भनेर भनेका छौँ । आन्दोलनकारी र निर्वाचित प्रतिनिधिलाई जेलमा राख्ने काम अपराध हो । सरकारले यसको भारी मूल्य चुकाउनु पर्छ । धैर्यताको बाँध टुट्यो भने अप्ठ्यारो हुन्छ भनेर हामीले भनेका छौँ । उहाँहरु रिहाईका लागि कुराले तयार हुनुहुन्छ तर, कामले तयार हुनुहुन्न ।

पार्टीको महाधिवेशन बैशाखमा हुने भन्नुभएको छ । अबको राजपाको नेतृत्व कस्तो हुन्छ ? राजपालाई कस्तो बनाउँदै हुनुहुन्छ ?

राजपा ६ वटा पार्टी मिलेर बनेको एउटा पार्टी हो । यो मुलुकमा राजपालाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउने उद्देश्यका साथ हामी अगाडि बढेका छौँ । जनताले सरकारलाई दुई तिहाईको बहुमत दिए । तर, जनअपेक्षा अनुसार यो सरकारले काम गर्न सकेको छैन । यस्तै कांग्रेस प्रतिपक्षीको भूमिका निर्वाह गर्न सफल भइरहेको छैन । फोरमले सबै मुद्दाहरु थन्काएर सरकारमा गएको छ । राप्रपा सकियो । यो अवस्थामा जनताले नै हामीलाई वैकल्पिक चाहियो भनिरहेका छन् । सबैको ध्यान अहिले हामीमाथि छ । सबैलाई समेटेर एउटा राष्ट्रिय आन्दोलनको घोषणा गरोस् र वैकल्पिक शक्तिको स्वरुप राष्ट्रिय जनता पार्टीले देओस् भन्ने छ । त्यही अनुसार हामी आइरहेका छौँ । महाधिवेशन वैशाखमा गर्ने भन्ने कुरा छ । हामीले त्यही अनुसार तयारी गरिरहहेका छौँ ।

वैकल्पिक शक्तिको रुपमा आउने कुरा गर्नुभयो । तर तपाईहरु एउटा निश्चित भूगोलको राजनीति गर्नुहुन्छ । वैकल्पिक शक्ति बन्नका लागि पार्टीलाई त्यही अनुसार विस्तार गर्नुपर्ला नि ?

मैँले अघि नै भनेँ नि हामी पहिचान र अधिकारको राजनीति गर्ने हिमाल, पहाड, तराईका शक्तिहरु एक भएर आउनुपर्छ । ती पार्टीहरुसंग हाम्रो कुरा भइरहेको छ । अब ७७ वटै जिल्लामा जानेगरी हामी आउँछौँ ।

अब तपाईहरु सरकारमा जानुहुन्छ कि जानुहुन्न ?

सरकारमा जाने त सवाल नै छैन नि ! मिडियाले हामीलाई सरकारमा पठाइदिँदा रहेछन् ! जबसम्म यी सवालहरु सम्बोधन हुँदैनन्, तबसम्म सरकारमा जाने कुरै छैन । राष्ट्रिय आन्दोलनको कुरा गरिरहँदा के को सरकारमा जाने ?