काठमाडौं– हङकङमा हालै सम्पन्न तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडी अजितकुमार यादव सम्मानित भएका छन् । नेपाल एथलेटिक्स संघले मंगलबार अजितलाई टिभिएस मोटरसाइकल र उनका प्रशिक्षक धनीराम चौधरीलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो ।


ADVERTISEMENT


सोही अवसरमा अजितलाई गोल्छा अर्गनाइजेसन, नबिल बैंक, गोल्डस्टार, रुस्लान र अन्नपूर्ण होटलले एक वर्षको लागि मासिक १२ हजार रुपैयाँको दरले प्रायोजन पनि गरेको छ । अन्नपूर्णले अजितलाई एक बर्षको जिम र पौडी सेवा निशुल्क उपलब्ध गरेको छ ।


ADVERTISEMENT

# # #


विभागीय टोली एपीएफ क्लबबाट खेल्दै आएको अजितले अजितले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण जितेका थिए । अजितले निर्धारित दूरी आठ मिनेट ३०।३२ सेकेन्डमा पूरा गरेका थिए । हङकङमा उनले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमानमा पनि सुधार गरेका थिए । स्वर्ण जित्ने क्रममा अजितले भारत र यमनका खेलाडीलाई पछि पारेका थिए ।

अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने कुनैपनि अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो । समग्रमा भने यो दोस्रो पदक हो ।

४५ वर्षअघि सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा नेपालका जितबहादुर केसीले म्याराथनमा काँस्य जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक थियो ।