काठमाडौँ – विश्वकप छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टिमले आन्ध्र प्रदेश यू–१९ संगको ५ खेलको सिरिज ४-१ ले जितेको छ ।


ADVERTISEMENT


बिहीबार भएको अन्तिम खेलमा आन्ध्र यू-१९ लाई ५ विकेटले हराउँदै नेपाल यू-१९ ले अभ्यास सिरिज ४-१ मा टंगाएको हो । यसअघिका चार खेलमा नेपालले ३ तथा आन्ध्र प्रदेशले १ खेल जितेका थिए ।


ADVERTISEMENT

# # #


बिहीबार पहिले ब्याटिङ गरेको आन्ध्र यू-१९ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनायो । उसका लागि रवि करिणले सर्वाधिक ४५ रन बनाए । उनले ८७ बलमा चार चौका हाने । यस्तै पी सुभ्रमन्नयम ३८, धरणी कुमार ३७ रनमा आउट हुँदा नितेश कुमार २३, जोनी बसा १२ र हर्ष वर्दन १० रनमा पवेलियन फर्किए ।

नेपालका लागि पवन सर्राफ र सूर्य तामाङले समान २-२ विकेट लिए । कमल सिंह ऐरी, प्रतिश जिसी र भीम सार्कीले समान १-१ विकेट आफ्नो नाममा लेखाए ।

२२१ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको नेपालले ४८.२ ओभरमा ५ विकेको क्षतीमा लक्ष्य भेटायो । नेपालका लागि आशिफ शेखले अर्धशतक हाने । सर्वाधिक ६५ रन बनाएका उनले ९७ बलमा चार चौका र एक छक्का हाने । यस्तै कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले समान ४५ रन बनाए । रोहितले ५१ बलमा ३ चौका र एक छक्का हान्दा भीमले ३३ बलमै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै रविकुमार शाहले ३७ रन जोडे ।

आन्ध्र यू-१९ का लागि दत्त रेडी, बी सन्तोष, इस्माली, कामिल र नितेश कुमारले समान १-१ विकेट लिए ।

अभ्यास खेल टंगिएसंगै नेपाली यू १९ अब स्वदेश फर्किएनेछ । विश्वकप एशिया क्षेत्र छनोट अप्रिलमा मलेसियामा हुँदैछ । उक्त प्रतियोगितामा नेपाल र युएईसहित ६ राष्ट्रले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको विजेताले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकप स्थान बनाउने छ । नेपाललाई प्रतियोगिताको मुख्य दाबेदार मानिएको छ ।

भारतमा रहँदा अभ्यास खेलमा गरेको प्रर्दशनका आधारमा मलेसियामा हुने छनोट प्रतियोगिताका लागि अन्तिम १४ जनाको टुंगो लाग्ने मुख्य प्रशिक्षक विनोद दासले बताएका छन् । भारतमा १८ जना खेलाडी अभ्यासका लागि गएका थिए ।