काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को नक्कली लोगो समेत प्रयोग गरी टि-सर्ट बनाई बेचबिखन गर्ने ६ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा बाग्लुङका चन्द्रदत्त शर्मा, काठमाडौं खुसिबुस्थित बिआरके सप्लायर्सका संचालकद्वय रुपन्देहीका बिष्णु प्रसाद कडेंल तथा स्याङजाका सागर पाण्डे, काठमाडौं महाबौद्धस्थित रेडिमेड स्टोरका संचालकगोबिन्द खनाल, काठमाडौं बिशाल बजारस्थित एसि स्पोर्ट्‍स गोदामका संचालक रामशरण खरेल र काठमाडौं सुन्धारास्थित सिटि स्पोर्ट्‍सका संचालक निलम बस्नेत रहेका छन् ।


ADVERTISEMENT

# # #


महाशाखाबाट खटिएको प्रहरीले उक्त नक्कली जर्सी बिक्री गर्न लिई हिंडेको अवस्थामा चन्द्रदत्तलाई ३२ थान जर्सी तथा बिष्णुप्रसाद र सागरको बिआरके सप्लायर्सबाट ३ सय ३८ थान जर्सी सहित उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा गोबिन्दको रेडिमेड स्टोरबाट २ सय ७४ थान, रामशरणको एसि स्पोर्ट्स गोदामबाट २ सय ४२ थान र निलमको सिटि स्पोर्ट्सबाट ३० थान नक्कली लोगो भएका जर्सी फेला पारी शुक्रबार उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको सो महाशाखाले जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले प्रयोग गर्ने जर्सी एन्फाले अन्तर्राष्ट्रियस्तरको ब्राण्ड केल्मी चाइना कम्पनी लिमिटेडसँग सम्झौता गरी आधिकारिक बिक्री बितरक कामारु ट्रेडिङ प्रालिलाई मात्र अधिकार प्रदान गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।