काठमाडौँ – सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण रोक्ने निर्णयमा भारतीय दूतावासको पत्रका कारण सरकार पछि नहटेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार बिहान बसेको मन्त्री परिषद्को बैठकबाट बाहिरिनेक्रममा सञ्चारमन्त्री बाँस्कोटाले  परीक्षणका लागि आवश्यक व्यवस्थापनका अभाव कारण तत्कालका लागि रोक्ने निर्णय भएको बताए ।


ADVERTISEMENT

# # #


‘एउटा कुरा के मान्नुस् भने हामी कसैको पत्रबाट प्रभावित हुने कुरा होइन । हाम्रो व्यवस्थापन कस्तो छ भन्ने मूल प्रश्न हो । सरकार-सरकार वा अन्य निकायबीच आ-आफ्नो चासोका विषयमा पत्र आउने जाने हुनसक्छन् ।’ उनले भने, ‘सीमाना जोडिएको छ, उत्पादनहरु आदानप्रदान हुन्छन् भने हाम्रा पनि चासो हुन्छन् । त्यसलाई हामीले अन्यथा लिन हुँदैन ।’

नागरिकको अधिकार र स्वास्थ्यमा सरकार गम्भीर रहेको भन्दै उनले जनस्वास्थ्यसंग जोडिएको विषय व्यापारको विषय मात्रै नहुने बताए ।

देशको उत्पादनको कुरा पनि महत्वपूर्ण रहेको भन्दै उनले भने, ‘सँधै कताबाट आउँछ ? विषादी जाँचका लागि कहाँ कहाँ राख्ने भन्ने मात्रै होइन । आफ्नो उत्पादन बढाउने तर्फपनि हामी काम गरिरहेका छौँ ।

यस्तै उनले मन्त्रीपरिषद् बैठक आकष्मिक बसेको प्रचार गरिएपनि त्यस्तो नभएको बताए । ‘आकष्मिक भनेर हामीले भनेकै थिएनौँ । कसरी आकष्मिक भनेर प्रचार भयो ?’ मन्त्री बाँस्कोटाले भने, ‘मन्त्रीपरिषद् बैठक कहिले बिहान बस्छ, कहिले साँझा वा दिउँसो बस्छ । आवश्यकता अनुसार २४ सै घण्टा हुनसक्छ ।’

सम्बन्धित समाचार
भारत दबाबपछि सीमा नाकामा तरकारी र फलफुलको विषादी परीक्षण स्थगित
विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्र बाहिरियो

बैठकमा छलफल भएको विषय भने उनले खुलाउन चाहेनन् । ‘आवश्यकता अनुसारका विषयमा भयो होला । कानुन, नियमावली, सरुवा बढुवाका विषयमा भयो होला । तपाईहरुले बिहीबार थाहा पाइहाल्नुहुन्छ’ उनले भने ।

मन्त्री बाँस्कोटाले मन्त्री परिषद् हेरफेरको विषय प्रधानमन्त्रीको नितान्त विशेषाधिकारको विषय भएकाले सञ्चारकर्मीलाई कुहिरिमण्डलनमा नरहन आग्रह गरे ।