बलेवा– केही दिनदेखि परिरहेको निरन्तर वर्षासँगै गएको पहिरोका कारण बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध भएका छन् । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिकासँगकोे सडक सम्पर्क टुटेको छ ।


ADVERTISEMENT


जिल्ला सदरमुकाम र छिमेकी गाउँपालिका तथा नगरपालिका जोड्ने सडक पहिराले अवरुद्ध भएपछि बरेङमा सडक सम्पर्क टुटेको हो । बरेङदेखि धुल्लुबाँस्कोट छाप उर्लेनी सडक तीन दिनदेखि अवरुद्ध छ । उक्त गाउँपालिकाको कार्यालयदेखि गुल्मीको शान्तिपुर सडकखण्डको दाउन्ने, काल्चे र घट्टेमा पहिरो जाँदा बाटो अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताए । ‘गाउँपालिकाभित्रको भन्दा छिमेकी गाउँपालिकाको सडक खण्डमा पानीले अवरोध पु¥याएका कारण हाम्रो सडक सम्पर्क टुटेको हो’, उनले भने, ‘निरन्तर वर्षा भइरहेकाले तत्कालै सडक खुलाउन सम्भव छैन ।’


ADVERTISEMENT

# # #


गुल्मीको सिमानामा पर्ने उक्त गाउँपालिकाले सदरमुकाममा हुने कामबाहेक गाउँपालिका बाहिर आवतजावतका लागि बरेङ–शान्तिपुर सडक प्रयोग गर्दै आएका थिए । सो सडक एक साता पहिलेदेखि नै अवरुद्ध छ । सडक बन्द हुँदा बरेङदेखि बुटवलका लागि छुटेका सवारी साधन बरेङमै रोकिएका छन् भने बुटवलदेखि बरेङका लागि आएका यात्रुबाहक तथा मालबाहक गाडी शान्तिपुरमै रोकिएको उपाध्यक्ष पुनले जानकारी दिए ।

सडक अवरुद्ध भएका कारण बिरामीलाई अस्पताल पु¥याउन ठूलो समस्या भएको छ । ‘गाउँपालिकाका भित्री सडक त अवरुद्ध थिएन, सिङ्गो गाउँपालिका सडक सञ्जालभन्दा बाहिर भयो’, उनले भने, ‘हाम्रो अधिकारक्षेत्र भित्रको भए त पन्छाएर चलाउथ्यौँ, अन्य गाउँपालिकामा अवरोध रहेकाले समस्यामा परियो ।’ बरेङमा सबै कच्ची सडक मात्रै छन् । पक्की सडक नभएका कारण हिलाम्मे सडकमा सवारी साधान चलाउनसमेत जोखिम हुने गरेको सवारी चालक मानबहादुर थापाले बताए ।

बरेङसँगै जिल्लाको ताराखोला, निसीखोला र तमानखोला गाउँपालिकाका स्थानीय सडक पनि पहिरोका कारण अवरुद्ध छन् । ‘गाउँपालिकाको केन्द्रमा आउने सडकमा समस्या छैन रोकिँदा बनाइहाल्छौँ’, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भने, ‘स्थानीय सडक त अब दशैँका बेला मात्रै खुलाउने हो ।’ स्थानीय सडक बिस्तारका क्रममा बनेका नयाँ संरचनाले गोरेटो बाटोसमेत मासिएका छन् । गोरेटो बाटोसमेत नहुँदा पैदलयात्रीलाई सास्ती परेको छ । हिलाम्मे सडक र माासिएका गोरेटो बाटोका कारण पैदल हिँड्नसमेत कठिन भइरहेको स्थानीयवासीले बताए । रासस