काठमाडौँ – स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पूनस्र्थापना नगरे र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो । समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि राजसंस्था र हिन्दूराष्ट्र पूनर्स्थापना गराउनको लागि विभिन्न खबरदारी सभाहरु गर्दै आएको भन्दै अब मंसिरसम्म माग पूरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सभामुख कृष्णबहादुर महरालाई राजतन्त्र र हिन्दू राज्यको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको उल्लेख गरे । ‘हामा माग बारे ५ महिना भित्र कुनै सुनुवाई नभएमा हामी मंसीर १ गते देखि ७२ घण्टे, लाखौं जनताको उपस्थितिमा संत्याग्रह गर्न हामी बाध्य हुनेछौं । सत्याग्रह गर्ने हाम्रो कुनै रहर होइन’ उनले भने ।

कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले देश बिगार्नेहरुलाई दण्डित नगर्नाले मुलुकको यो हविगत भएको टिप्पणी गरे । उनले भने, ‘देश बिगार्नेहरुलाई हामीले कारबाही गर्न सकेको भए देश र जनताले अहिले यसरी दुःख पाउने थिएनन् ।’

केसीले राजसंस्थालाई राजाको वरिपरि घुम्ने र विदेशमा अरवौंको सम्पत्ति लगेर थुपार्नेहरुले नै गर्दा आज राजाको यो अवस्था आएको टिप्पणी गरे । त्यस्तै उनले नेपालमा धर्मनिरपेक्षता कसरी आयो भन्ने कुरा तत्कालीन जिम्मेवार पार्टीका जिम्मेवार व्यक्तिहरुले नै थाहा नभएको अभिव्यक्ति दिएको स्मरण गराउँदै भने, ‘अरु त कुरै छोडौं, नेपाली कांग्रेसका तत्कालिन प्रमुख सचेतक लक्ष्मण घिमिरेले धर्मनिरपेक्षता कहाँबाट आयो भन्ने कुरा थाहा नभएको भन्नुभयो ।’

कार्यक्रममा अर्का वक्ता प्रेमी कैदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्न नेपाली जनता उठ्नुपर्ने बेला आईसकेको बताए । पूर्व महालेखापरीक्षकले नै नेपालमा अहिले तीन खर्ब भ्रष्टाचार रहेको भनेर बोलेकोले अहिलेसम्म भ्रष्टाचारीहरुलाई कारबाही नभएकोमा आक्रोश पोखे ।

राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरदचन्द्र दाहालले राजाको पूनर्स्थापना हुनुपर्ने माग गरे । उनले भने,‘यसको लागि सबैभन्दा राम्रो भनेको र हित हुने भनेको संसदको दुई तिहाईबाट नै संविधान संशोधन गरेर राजसंस्थाको पूनस्र्थापना गर्नुपर्छ ।’

त्यस्तै, अन्तरधार्मिक परिषदका महासचिव केशब चौलागाई र स्वतन्त्र नागरिक समाजका अभियन्ता रामकुमार रिजालले पनि आफ्नो धारणा राखे ।