काठमाडौँ – कप्तान पारस खड्काले विष्फोटक ब्याटिङ गरेपछि सिंगापुरमा जारी आइसिसी टी-२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ । ग्लोबल छनोटमा पुग्नका लागि जित्नैपर्ने खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


शनिबार सिंगापुरको इण्डिन एशोसिएसन मैदानमा टस हारेर ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनायो । १४२ रनको मध्यम चुनौति पच्छ्याउँदै मैदान उत्रिएको नेपालका लागि कप्तान पारस र शरद भेषवाकरले उत्कृष्ट साझे्दारी गरेपछि नेपालले सहज जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


जितसँगै नेपाल विश्व छनोट नजिक पुगेको छ भने कुवेत बाहिरिएको छ। यसअघि कतार र मलेसिया पनि प्रतियोगिताबाट बाहिरिएका थिए।

नेपालको कप्तान पारसले विष्फोटक रुपमा अर्धशतक बनाए । टी २० अन्तर्राष्ट्रियमा आफ्नो तेस्रो अर्धशतक हानेका पारसले ४२ बलमा ११ चौका र एक छक्का हानेर आउट भए । पहिलो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्लसंग ४४ रनको साझेदारी गरेका उनले दोस्रो विकेटका लागि शरदसंग ७८ रनको शानदार साझेदारी गरे ।

नटआउट रहेका शरदले विजयी छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ३० बलमा ४ चौका र एक छक्काको मदतमा ३८ रन जाडे ।

ज्ञानेन्द्र मल्ल १६ बलमा आउट भए । चौथो ओभरको पहिलो चार बलमा १४ रन जोडेका उनले अर्को बलमा छक्का हान्ने चक्करमा क्याच आउट भए । त्यसअघि उनले १३ बलमा २ चौका एक छक्का हाने ।

दीपेन्द्र सिंह ऐरी १ रनमा पेवेलियन फर्किए भने रोहित पौडेल ६ रनमा नटआउट रहे । बलिङमा कुवेतका मोहमद कासिफले ३ विकेट लिए।

यसअघि कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोड। अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिए।

बलिङमा नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३–३ विकेट लिए। सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए। करण केसी २ विकेट र अभिनास बोहराले १ विकेट हात पारे।

अंक तालिकामा शीर्ष स्थानको सिंगापुरको ३ खेलबाट ५ अंक छ भने नेपालको ३ खेलबाट ४ अंक छ। अब नेपालले आइतबार आयोजक सिंगापुरसँग खेल्दैछ। सो खेल प्रतियोगिताको फाइनल बराबर हुने भएको छ। जित हात पार्ने टिम च्याम्पियन बन्दै विश्वकप छनोटमा पुग्नेछ।