मकवानपुर – नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले स्थायी शान्तिको लागि गठबन्धन गरिएको बताएका छन् । मकवानपुरमा चुनावी प्रचार प्रसारका क्रममा बुधबार आयोजित कार्यक्रममा बोल्दै सभापति बानियाँले शान्ति प्रक्रिया टुंगो लगाउन र सत्यनिरुपण र बेपत्ताको टुंगो लगाउन गठबन्धन भएको बताएका हुन् ।
साथै सभापति बानियाँले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन समेत अनुरोध गरेका छन् । सभापति बानियाँले संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरूलाई कसरी जिताउन सकिन्छ भनेर चिन्ता गर्नुपर्ने बताए ।
फरक प्रसंगमा सभापति बानियाँले गठबन्धन अप्राकृतिक छ भन्नेहरुलाई जवाफ दिँदै भने, ‘अहिले यत्रतत्र सर्वत्र गठबन्धनलाई विरोधी पक्षले गठबन्धन अप्राकृतिक छ, गलत छ, कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन नै मिलेन भनिरहेका पनि छन् ।’ सभापति बानियाँले थपे, ‘लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन कुनै पनि मिलेन भनेका छन् । एउटा कुरा के छ भने ती भन्नेहरू र भ्रम सिर्जना गर्नेहरूलाई हामीले चिर्नुपर्छ ।’
शान्ति सम्झौताको प्रसंगलाई कोट्याउँदै सभापति बानियाँले भने, ‘बृहत् शान्ति सम्झौताका जगमा हिजो विद्रोह गर्ने र दमन गर्ने पक्षमा शान्ति सम्झौता भएको हो । त्यो शान्ति प्रक्रियाको जगमा गठबन्धन भएको छ ।’
गणतन्त्रको पक्षमा पनि गठबन्धन भएको बताउँदै सभापति बानियाँले भने ‘गणतन्त्रको पक्षमा गठबन्धन भएको छ । स्थायी शान्तिको लागि गठबन्धन भएको छ । ‘शान्ति प्रक्रिया टुंगो लगाउन र सत्यनिरुपण र बेपत्ताको टुंगो लगाउन गठबन्धन भएको हो । छिनोफानो गर्नको लागि गठबन्धन भएको हो ।’
एमाले अध्यक्ष ‘केपी शर्मा ओलीलाई काउन्टर अट्याक गर्दै उनले भने, ‘केपी शर्मा ओलीले साढे तीन वर्ष गर्न नसकेको कार्यको लागि माओवादी र कांग्रेसको शान्ति प्रक्रियासहितको गणतन्त्रको स्थायित्वको लागि गठबन्धन भएको हो । शान्ति र समृद्धिको लागि पनि गठबन्धन हो ।’
शान्ति सम्झौताको किनारामा साक्षी समाजवादीका अध्यक्ष माधवकुमार नेपाल साथै रहेको बताउँदै नेता बानियाँले भने ‘कांग्रेस र माओवादीबीच भएको शान्ति सम्झौताको किनारामा साक्षी रहेको एकीकृत समाजवादी गठबन्धनमा सहभागी भएको छ । तत्कालीन समयमा हस्ताक्षर गर्नेमा माधवकुमार नेपाल पनि हुनुहुन्छ ।’
सभापति बानियाँले भने, ‘गठबन्धन चित्त बुझ्दैन भने गिरिजाबाबुलाई भेट्न माथि जानुपर्छ । किनभने गिरिजाबाबुले शान्ति सम्झौता गर्नुभएको हो । माओवादीसँग गरेको गठबन्धन गलत कसैले भन्छ भने पनि गठबन्धन गलत छैन । होइन भने शान्ति प्रक्रिया नै गलत छ भन्नुपर्छ ।’
‘मानवताको सिद्धान्तमा आधारित भएर मान्छे मर्नबाट रोक्नको लागि आजको गठबन्धन भएको छ’, उनले भने, ‘हिजोका दिनमा गरिब सर्वहाराको उन्नति हुन्छ भनेर कम्युनिस्टको गठबन्धन भएको थियो । । कम्युनिस्टको बहुमत आएकै हो । ६ वटा प्रदेशमा कम्युनिस्टको शासन आएकै हो ।’
ओली नेतृत्वको वाम एकता कमाउनिस्ट भएकाले आजको गठबन्धन भएको बताउँदै सभापति बानियाँले थपे , ‘ओलीले नेतृत्वको गरेको तत्कालीन कम्युनिस्ट भनेको कमाउनिस्ट मात्रै भयो । कमाउनतिर लागे । ओलीका कारण विभिन्न काण्डमा माओवादी पनि फसे । ओलीको हावादारी कुरामा फसे । रेलका कुरा, पानी जहाजका कुरा आए ।’
उनले साँढे तीन वर्षमा ओलीले शान्ति प्रक्रियाको कुरा अगाडि नबढाएको बताए । प्रचण्डले कम्युनिस्टको नाममा ओलीसँग गठबन्धन गर्नु हुँदैन भनेर नै ओलीलाई नक्कली कम्युनिस्ट भन्दै शान्ति प्रक्रिया र संविधानको रक्षाका लागि कांग्रेससँग गठबन्धन गर्नुपरेको बानियाँको तर्क छ ।
विगतमा ओलीले प्रचण्डसहितका माओवादी नेताहरूलाई जेल हाल्ने मनसाय देखाएको पनि सभापति बानियाँले आरोप लगाए । बानियाँले तत्कालीन वाम गठबन्धन इमान्दार नभएकोसमेत तर्क गरे । उनले अहिलेको गठबन्धनमा कांग्रेस इमान्दार रहेको पनि बताए ।