काठमाडौँ – प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ले आफूले सोचे अनुसारको परिणाम हासिल हुन नसकेको स्वीकार गरेका छन् । मंगलबार वर्तमान सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार असफल नभए पनि सोचेअनुसारको परिणाम हासिल नभएको बताएका हुन् ।
‘आज म यो सम्बोधनबाट देशबासीमाझी स्वीकार गर्छु कि सरकार असफल त भएन तर मेरो आफ्नै हुटहुटी अनुसारको परिणाम पनि आएको छैन ।’ उनले भने, ‘म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु ।’
साथै प्रधानमन्त्री प्रचण्डले अब सरकारको कार्यशैली बदलिने घोषणा गरे । उनले केही पूर्वनिर्धारित बाहेक बाहिरका कुनै नगइ नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवम् विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा आफू रहेको बताए ।
साथै उनले आफू यही साता प्रधानमन्त्री कार्यालयको संरचना परिवर्तन गर्ने तयारीमा रहेको बताए । उनले भने, ‘सिंगो राज्यका लागि यो एउटा संकेत र सन्देश हुनेछ ।’ पूर्वाधार विकासमा देखिएका समस्या समाधान गर्न पनि आफू लागिपर्ने उनले बताए ।