काठमाडौँ – सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ । मंगलबार नेप्से ४७.४ अंक (२.२९ प्रतिशत)ले बढेर २ हजार १००.४३ बिन्दुमा पुगेर रोकिएको हो ।
आजको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।
अन्तिम कारोबारसम्म आइपुग्दा नेप्से ४७.४ बढेर रोकिएको हो । आजको कारोबारमा विभिन्न तीन सय १५ कम्पनीको एक करोड १६ लाख ४५ हजार नौ सय पाँच कित्ता सेयर ६० हजार सात सय २० पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार सात सय २० बराबरको कारोबार भएको छ।
आज सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन ३.३०, व्यापार ३.१२ र बैंकिङ ३.०३ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक २.०१, वित्त २.११, होटेल तथा पर्यटन १.०९, जलविद्युत् १.८० र जीवन बिमा २.१७ प्रतिशतले बढेको छ । लघुवित्त १.४५, म्युचुअल फन्ड ०.३६, निर्जीवन बिमा २.४३ र अन्य समूह १.७३ प्रतिशतले बढेको छ।
आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य ८.५४ र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.९६ प्रतिशतले बढेको छ।
तर, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.४६ र हिमालयन ऊर्जा विकास कम्पनीको ६.२१ प्रतिशतले सेयर मूल्य घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. १२ करोड ३३ लाख ८५ हजार पाँच सय ६९ र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयर तीन लाख ६६ हजार पाँच सय कित्ता सेयर किनबेच भएको छ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पुँजी बजारमा देखिएको हो । “शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ”, उनले भने ।



























































