काठमाडौँ – अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा नेपालले टस जितेर स्कटल्याण्डलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको हो । खेल नेपाली समय अनुसार राती ९१५ बजे सुरु हुनेछ ।
नेपालले जित हासिल गर्दै उक्त सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा रहेको छ । यसअघि यही कात्तिक ११ गते भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।
त्यसो त स्कटल्यान्ड पनि उक्त सिरिजमा दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराइसकेको छ ।
नेपाल र स्कटल्याण्डबीच हालसम्म छ एकदिवसीय खेल भएका छन् । जसमा दुवै टोलीले समान तीनरतीन खेल जितेका छन् । आगामी सन् २०२७ सम्म चल्ने विश्वकप लिग २ क्रिकेटमा नेपालले नौ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । जसमा हरेक सिरिजमा नेपालले चार एकदिवसीय खेल खेल्नेछ ।
लिग–२ मा नेपालले ९ खेलमा सात ७ हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । यता स्कटल्याण्ड ८ खेलमा पाँच जित दुई हार र एक खेल रद्दसँगै ११ अङ्कका साथ चौथो स्थानमा रहेको छ ।
त्यसैगरी १२ खेल खेलेको क्यानडा आठ खेलमा जित तथा चार खेलमा हार बेहोर्दै १६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित स्कटल्याण्ड, अमेरिका, क्यानडा, नेदरल्याण्डस्, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् ।


























































