काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएको छ ।
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गत बुधबार चितवनबाट रातारात पोखरा पुर्याएको सम्बन्धमा सोधपुछका लागि आयोगले आईजिपी कुँवरलाई डाकेको हो ।
रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारले लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै हिजो मात्रै आयोगमा उजुरी गरेका थिए । सो क्रममा लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको समेत पत्रमा उल्लेख गरिएको छ ।
सोही उजुरीका विषयमा सोधपुछ गर्न आईजीपी कुँवरलाई आजै आयोगमा बोलाइएको आयोगकी सदस्य डा. लिली थापाले जानकारी दिइन् ।