काठमाडौं- विभिन्न माग राख्दै सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले काठमाडौंको माइतीघर मण्डलामा निरन्तर धर्ना दिएका छन्।
सडकपेटीलाई आफ्नो रोजगारीको माध्यम बनाएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूमाथि काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले बलपूर्वक हटाउने कार्य गरेको भन्दै उनीहरू केही दिनदेखि माइतीघरमा आन्दोलनरत छन्।
सडकपेटी केन्द्रीय स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायी समूहको अगुवाइमा भइरहेको धर्नामा सहभागीहरूले सरकारले दृष्टिविहीन नागरिकको गाँस, बास र कपासको ग्यारेन्टी गर्न नसकेको र वैकल्पिक रोजगारीको व्यवस्था नगरी सडकमा व्यवसाय गर्नसमेत रोक लगाएको गुनासो गरेका छन्।
धर्नामा सहभागी पूर्णबहादुर रोकायाले दृष्टिविहीन नागरिकलाई क्षमताअनुसार रोजगारीको व्यवस्था गर्न, उनीहरूले उत्पादन गरेका सामग्री राज्यले खरिद गर्ने नीति लागू गर्न तथा सम्मानजनक रूपमा जीविकोपार्जन गर्न सक्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरे।
उनीहरूले राज्यबाट प्राप्त अपाङ्गता भत्ता मात्रै जीवनयापनका लागि पर्याप्त नभएको उल्लेख गर्दै सडकपेटीमा व्यवसाय गर्न रोक लगाउने हो भने त्यसको विकल्पस्वरूप उपयुक्त रोजगारी र जीवनयापनको सुनिश्चित व्यवस्था सरकारले गर्नुपर्ने मागसमेत गरेका छन्।



























































