काठमाडौं – नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट र विभाजनको पक्षमा नभई एकताबद्ध कांग्रेसको पक्षमा रहेको बताएका छन्।
सामाजिक सन्जाल फेसबुकबाट आफ्नो धारणा राख्दै महरले कांग्रेसलाई अहिले “संस्थापन वा विस्थापन” तथा “इतर वा भितर” जस्ता गुटगत घेराभन्दा माथि उठाएर हेर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, “कांग्रेसका अधिकांश नेता–कार्यकर्ताको भावना पार्टी विभाजन होइन, बलियो र एकताबद्ध कांग्रेस निर्माण गर्ने हो। नेतृत्वले उनीहरूको आवाज सुन्नुपर्छ र सम्मान गर्नुपर्छ।” उनले व्यक्ति वा गुटको स्वार्थभन्दा माथि उठेर देश, लोकतन्त्र र कांग्रेसको भविष्यलाई केन्द्रमा राख्ने समय आएको बताए। “कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ। त्यसैले आजको आवश्यकता कसले कसलाई जित्यो भन्ने होइन, कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने हो,” महरले भने।
महरले पार्टीभित्र देखिएका मतभेद र असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गर्दै सबै नेता–कार्यकर्तालाई एउटै उद्देश्यमा जोड्नुपर्नेमा जोड दिए। उनले कांग्रेसको शक्ति कुनै व्यक्ति वा गुटमा नभई लाखौँ नेता–कार्यकर्ताको एकता, विश्वास र जनतासँगको सम्बन्धमा रहेको बताए।
“९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् भने नेतृत्वले त्यो जनभावनालाई आत्मसात् गर्नैपर्छ। अब गुटको घेराभन्दा माथि उठेर देश र कांग्रेसको भविष्यका लागि एक ठाउँमा उभिने बेला हो,” महरले भने।




























































