रसुवामा हिमनदी खसेपछि बनेको नयाँ हिमताल (ग्लेसियल लेक) मा पानी निरन्तर भरिँदै गएपछि उक्त ताल फुट्न सक्ने जोखिम रहेको अधिकारीहरूले बताएका छन् ।
नेपाली अधिकारीहरूले चीनको जलस्रोत मन्त्रालयबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै बीबीसीलाई बताएअनुसार रसुवामा रहेको ‘लेक टू’ नाम दिइएको हिमतालमा पानी भरिने क्रम जारी छ । बाढी पूर्वानुमान शाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञानी विनोद पराजुलीका अनुसार चिनियाँ तथ्यांकअनुसार अगस्ट ३१ सम्म उक्त हिमतालमा अनुमानित ६ लाख ५० हजार घनमिटर पानी जम्मा भइसकेको छ ।
पराजुलीले बीबीसी न्यूज नेपालीसँग भनेका छन्, “यो हिमताल भरिँदै गएको छ। त्यसैले यसको फुट्ने जोखिम छ।” उनले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, विशेषगरी जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा परिचालित कर्मचारीलाई ताल फुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अधिकारीहरूका अनुसार हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्ने यकिन अनुमान गर्न अहिले कठिन छ ।
कहाँ छ यो हिमताल ?
अधिकारीहरूका अनुसार अगस्ट ३० मा खसेको हिमनदी नेपाल–चीन सीमाक्षेत्रमा थियो। तर त्यसपछि बनेको नयाँ हिमताल भने नेपाली भूभागभित्र रहेको छ । वरिष्ठ जलविज्ञानी पराजुलीका अनुसार नयाँ हिमताल रसुवाको लाङटाङ लिरुङ हिमालको पश्चिमी ढलानमा, तेन्जिङ नामक स्थानको ठीक अगाडि बनेको छ । उनका अनुसार यो हिमताल समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेको अनुमान गरिएको छ । यो ताल तीनतिरबाट चट्टानले घेरिएको र एकतिर केही खुला रहेको देखिन्छ। तालको आकार गोलाकार रहेको र यसको क्षेत्रफल करिब ०.३ वर्ग किलोमिटर रहेको बताइएको छ ।तालको वास्तविक गहिराइ भने यकिन गर्न कठिन रहेको पराजुलीले बताएका छन्। उनका अनुसार पानीको सतह मात्र होइन, तालको गहिराइले पानीको कुल आयतन निर्धारण गर्ने भएकाले यो महत्त्वपूर्ण हुन्छ। प्रारम्भिक अनुमानअनुसार तालको गहिराइ करिब १० मिटर हुन सक्ने बताइएको छ।
हिमतालमा पानी किन बिस्तारै भरिँदै छ ?
पराजुलीका अनुसार यो हिमताल अगस्ट २६ मा हिमपहिरो गएको स्थानभन्दा तल र नदीभन्दा निकै माथिल्लो क्षेत्रमा रहेको छ । त्यसैले नदीबाट ठूलो मात्रामा पानी तत्काल तालमा पुगिरहेको छैन । हिमनदीबाट पग्लिएको पानी बिस्तारै तालमा जम्मा भइरहेको छ । यही कारण तालमा पानी भरिने गति अहिले तुलनात्मक रूपमा कम रहेको अधिकारीहरूको भनाइ छ ।
कति खतरनाक छ यो हिमताल ?
अधिकारीहरूका अनुसार अगस्ट २६ मा आएको बाढीका क्रममा नेपालतर्फ करिब २० लाख घनमिटर पानी बगेको थियो । त्यसको तुलनामा अहिले बनेको हिमतालमा रहेको पानीको मात्रा निकै कम छ । तर ताल फुटेमा जोखिम भने गम्भीर हुन सक्ने जलविज्ञानी पराजुलीको भनाइ छ । उनका अनुसार तल्लो क्षेत्रमा साना–साना पहिरो, नदी क्षेत्रमा जम्मा भएको माटो तथा विभिन्न खोल्साहरू रहेका छन् । यदि हिमताल अचानक फुट्यो भने ती खोल्सा र पानीका निकासहरू ठूलो बहावमा परिणत हुन सक्छन् ।
त्यसैले विशेषगरी सुरुङ क्षेत्रमा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा तल्लो क्षेत्रमा मृतक र बेपत्ता व्यक्तिको खोजीमा संलग्न टोलीहरूलाई थप सतर्क रहनुपर्ने अधिकारीहरूले बताएका छन् । पराजुलीका अनुसार हिमताल फुटे पनि यसको प्रभाव अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रभन्दा धेरै तलसम्म पुग्ने सम्भावना कम रहेको अनुमान गरिएको छ ।
पहिरोको जोखिम पनि कायमै
वरिष्ठ जलविज्ञानी पराजुलीका अनुसार अगस्ट २६ मा हिमपहिरो सुरु भएर तलतर्फ बग्न थालेको स्थानदेखि त्यसपछि विभिन्न स्थानमा पटक–पटक पहिरो गएको अभिलेख छ । उनले हाल फुट्ने जोखिममा रहेको प्रमुख हिमताल ‘लेक टू’ नै रहेको बताएका छन्। तर त्यससँगै थप जोखिमका रूपमा जुनसुकै बेला पहिरो जान सक्ने सम्भावना रहेको पनि उनले चेतावनी दिएका छन् । उनका अनुसार हिमतालमा पानीको मात्रा बढ्दै जाँदा त्यसले तालको संरचनामा दबाब बढाउँछ र फुट्ने जोखिमसमेत बढ्न सक्छ। कतिपय हिमताल चुहावटका कारण बनेको एक–दुई दिनमै फुट्ने गरेको उदाहरण पनि रहेको उनले बताएका छन् । ‘लेक टू’ अहिले भरिने क्रममा रहेकाले यसको फुट्ने सम्भावनालाई बेवास्ता गर्न नहुने अधिकारीहरूको भनाइ छ ।
यसकारण रसुवा क्षेत्रमा उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मी, जलविद्युत् आयोजना तथा सुरुङ क्षेत्रमा कार्यरत कर्मचारी र नदी तथा खोल्साको तल्लो क्षेत्रमा रहेका नागरिकलाई सम्भावित हिमताल विस्फोटजन्य बाढी (GLOF) र पहिरोको जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
(गनी अन्सारीद्वारा बीबीसी हिन्दीमा प्रकाशित सामग्रीकाे पुन: प्रकाशन)































































