काठमाडौं – भोटेकोशी बाढी तथा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर १ भक्तपुरले चाँगुनारायण मन्दिरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार साँझ ५ बजे चाँगुनारायण मन्दिरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा भोटेकोशी बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरिएको थियो। उनीहरूको योगदान र परिवारले भोगिरहेको पीडाप्रति सम्मान प्रकट गर्दै दीप प्रज्वलन गरिएको हो।
त्यसैगरी, विपद्मा परी घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ तथा बाढीपहिरोका कारण हराइरहेका व्यक्तिहरूको सकुशल उद्धार र परिवारसँग पुनर्मिलनको कामना गरिएको छ ।
कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले विपद्मा ज्यान गुमाएका नागरिकप्रति सम्मान व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका थिए। साथै, विपद्बाट प्रभावित नागरिकलाई राहत, उद्धार र पुनःस्थापनाका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ भक्तपुरले विपद्मा ज्यान गुमाएकाहरूको सम्मान, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गर्दै कार्यक्रम आयोजना गरिएको जनाएको छ।
































































