काठमाडौँ– मेछापको लिखु तामाकोशी गाउँपालिका–६ का डिलानाथ अधिकारी ११ वर्षका उमेरमा घर छाड्न विवश भएका थिए ।


ADVERTISEMENT


आमाबुवाको निधनपछि सहाराविहीन बन्नुपर्दा उनी घर छाडेर हिडेका हुन् ।


ADVERTISEMENT

# # #


यद्यपि घर छाडेको ८२ वर्षपछि भने अधिकारीले पुनः आफ्नो जन्मस्थल पुग्ने अवसर पाएका छन् । जन्मस्थल पुग्न पाउँदा उनी अहिले निकै खुशी देखिन्छन् । सानो उमेरमै घर छाड्नुपरेकाले उनी निकै दुःखी थिए । त्रियानब्बे वर्षीय अधिकारीलाई बुढ्यौली लागेपछि भने घर जाने इच्छा तीव्र भएको थियो ।

उनले धेरैलाई आफ्नो जन्मथलो पुर्‍याउन आग्रह गरे पनि उनको बोली सुनिदिने कोही थिएन । ‘राजधानीको एक घरमा ६५ वर्ष भान्छे र पुजारीको काम गरेँ’, आफ्ना विगतका दिन सुनाउँदै उनले भने, ‘मालिकले घर पुर्‍याउन भन्दा पनि मान्नुभएन ।’ यद्यपि उनलाई गत वर्ष लकडाउनको बेला वीर अस्पतालको पछाडिबाट बेवारिसे अवस्थामा नवजीवन परोपकार समाजले उद्धार गरी तार्केश्वरस्थित आश्रम पुर्‍याएको थियो । ‘हामीले उहाँलाई उद्धार गर्दा शारीरिक अवस्था निकै कमजोर थियो’, आश्रमका अध्यक्ष दुर्गानाथ दाहाल भन्छन्, ‘राम्रोसँग हेरचाह गरी पालनपोषण गरेपछि बुवाको अवस्था राम्रो हुँदै गयो ।’

स्वास्थ्यावस्था तङ्ग्रिएपछि उनले घर जाने इच्छा तीव्र व्यक्त गरेकाले आफूहरु घर पहिचान गर्नेतर्फ लागेको दाहालको भनाई छ । ‘उहाँले रामेछापको कठजोर घर बताउनुभएको थियो । हामी उहाँको घर पहिचान गर्न सोही ठाउँमा गयौँ, उहाँको घर कठजोर नभई सोही ठाउँसँग जोडिएको अर्को गाउँमा रहेको पत्ता लगाउन सफल भयौँ’, उनले भने ।

स्थानीयवासी दुर्गाप्रसाद श्रेष्ठको सहयोगका कारण अधिकारीको जन्मठाउँ पत्ता लगाउन सजिलो भएको दाहालले बताए । अधिकारीका दाजुभाइ कोही छैनन् । उनका नाममा रहेको जग्गा पनि अर्कैका नाममा नापी भइसकेको रहेछ । अधिकारीको नागरिकता बनाउन पहल थालिएको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले बताए। नागरिकता बनाउने विषयमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिएको छ ।

उनलाई हाल नजिकैका दाजुभाइका घरमा राखिएको छ । अधिकारीले आश्रममै बस्ने इच्छा व्यक्त गरेकाले केही दिनपछि लिएर राखिने दाहालले जानकारी दिए । रासस