गलेश्वर – पछिल्लो समय गाउँगाउँमा सडक पुर्याउने होडबाजी चलिरहेको छ ।


ADVERTISEMENT


‘गाउँमा सडक पुर्याउन पाए सबै सुविधा आफै आउँथे’ भन्ने मानसिकताले सडक बनाउन पालिकाले पनि प्राथमिकतामा परेका छन् । सरकारी मापदण्डको ख्यालै नगरी डोजर चालकलाई नै इञ्जिनीयर बनाई गाउँगाउँमा ग्रेड नमिलाई खनिएका साँघुरा सडक मृत्युका कारक पनि बनिरहेका छन् । यस्ता सडकले केही दिनसम्म खुसी दिए पनि वर्षौंसम्म पीडाका कारण बनेका उदाहरण देखिएका छन् ।


ADVERTISEMENT

# # #


गत मङ्सिर १३ गते सोमबार साँझ म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा भएको बोलेरो जीप दुर्घटना । साँघुरो र घुम्ती नपुगेको सडक नै दुर्घटनाका प्रमुख कारण मानिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

जिल्ला सदरमुकाम बेनीबाट उत्तरी म्याग्दीको बेग जाँदै गरेको ग१ज ७२५१ नम्बरको बोलेरो जीप घाप्पा औँलको उकालो मोड नपुग्ने घुम्तीबाट करिब ३०० मिटरभन्दा तल खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेगका स्थानीय खिम पुन, खिमानन्द शर्मा, जीपका चालक दूतबहादुर थापा र वडा सदस्य गौमायाँ विश्वकर्मा रहेका छन् भने अन्य चार जना घाइते भएका छन् ।

बाटो साँघुरो भएकाले घुम्तीमा मोड नपुगेर पछि सर्ने क्रममा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले जानकारी दिए । “उकालो, साँघुरो र चिप्लो सडक दुर्घटनाका कारण देखिएको छ, अधिकांश दुर्घटनामा जीर्ण सडकमा चालकले सावधानी अपनाउन नसकेको देखिन्छ”, उनले भने ।

यसैगरी गत साउन १५ गते धवलागिरि गाउँपालिका–७ धारापानी नजिकै पर्ने बादिकाको भिरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग१ज ६८०५ नम्बरको जीप बादिकाको भिरमा दुर्घटनामा परेको थियो । अक्करे पहाडमा बनाइएको सडकको ग्रेड मिलेको छैन भने सडक साँघुरो रहेको छ ।

यसअघि गत असार १६ गते बेनीदेखि मङ्गला गाउँपालिका–१ पूर्णगाउँतर्फ जाँदै गरेको ग १ज ७६५२ नम्बरको जीप सोही गाउँपालिका– २ सिमलचौरको मिठौला, नेवारेखोलामा दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए ।

उक्त दुर्घटनामा समेत जीर्ण सडक नै दुर्घटनाका कारण मानिएको थियो । जिल्लामा विस्तार भएका ग्रामीण सडक अधिकांश मापदण्डविपरीत विस्तार भएका छन् । प्राविधिक सर्वेविना डोजर चालकको भरमा मापदण्ड पूरा नगरिकन विस्तार भएका सडक जीर्ण, साँघुरा र ग्रेड नमिलेका छन् ।

जिल्लामा हरेक वर्ष दुर्घटनाको सङ्ख्या र त्यसमा हुने मानवीय क्षति बढ्दो रहेको तथ्याङ्कमा देखिएको छ । चालू आर्थिक वर्षको मङ्सिर १५ गतेसम्ममा जिल्लामा पाँच वटा सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भइसकेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, आव २०७५/०७६ मा सात वटा सवारी दुर्घटना भएका थिए भने दुई जनाको ज्यान गएको थियो । त्यसैगरी आव २०७६/०७७ मा १३ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । आव २०७७/०७८ मा १२ वटा सवारी दुर्घटना भएका थिए भने आठ जनाको मृत्यु भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना र जाँचमा कडाइ गरिए पनि सडकको जीर्ण अवस्था र चालकको लापरबाहीले दुर्घटनालाई कम गर्न चुनौती थपिएको उनको भनाइ छ । एक नगरपालिका र ५ गाउँपालिकामा रहेका ४५ वटा वडामध्ये जिल्लामा धवलागिरि –१ गुर्जाबाहेक अन्य सबै वडामा कच्ची सडकको सञ्जालले जोडिएको छ ।

जिल्लाभर हालसम्म ५७२ किलोमिटर बढी कच्ची सडक विस्तार भइसकेको छ भने जिल्लाभरमा जम्मा नौ किलोमिटर सडकमात्रै कालोपत्र गरिएको छ । अहिले स्थानीय तहको पहलमा गाउँमा आफ्नो बाटो आफैँ बनाउन स्थानीय बासिन्दा लागिपरेका छन् । यसरी स्थानीयवासी नै अग्रसर भएर निर्माण गरिने ग्रामीण सडकमा डोजर चालक नै इञ्जिनीयर बन्छन् । यस्ता सडक वर्षात्का समयमा अभिसाप बन्दै गएका छन् । हरेक सडकमा वर्षा लागेसँगै पहिरो जान्छ । पहिराबाट धेरै धनजनको क्षति हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

ग्रामीण भेगमा रहेका हरेक बस्तीमा सडक पुगेपछि सडक पुगेको पहिलो वर्ष स्थानीय हर्षित हुने गरे पनि खुसीको सीमा केही महिनामा टुट्ने गरेको मङ्गला गाउँपालिका अर्मनका श्रीधर सापकोटाले बताए।

उनको घरमाथिबाट खनिएको सडकका कारण वर्षा हुँदा अन्यत्र गएर बस्नुपर्ने अवस्था आएको छ । घरमाथिबाट पहिरो खसेका कारण आफू विस्थापित भएर बेँसी घरमा बस्न बाध्य भएको उनले गुनासो गरे।

विकासको पहिलो खुड्किलो नै सडक भएपछि ग्रामीण भेगमा हरेक गाउँ बस्तीमा सडक पगेपछि स्थानीयको खुसी वर्षा लागेसँगै पीडामा बदलिएको छ । गाउँस्तरमा खनिएका सडक मनोमानी खनिँदा पछिल्ला वर्ष सडक नै काल बन्दै गएपछि जिल्लाका स्थानीय त्रसित भएका छन् । ग्रामीण सडकमा स्थानीयबीच असहमति हुँदा चालक नै इञ्जिनीयर बनेर सडक निर्माण गरिएका हुन्छन् ।

हरेक सर्वसाधारणको घरपायक पुर्याउनुपर्ने भएका कारण सडक मापदण्डविपरीत खनिन्छन् र केही समयको खुसी एक दुई महिना नबित्दै पीडामा परिणत भएको बेनी नगरपालिका– ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताए ।

पहाडी भूगोलमा सडक मनोमानी तरिकाले खनिएपछि ग्रामीण बस्ती पहिराकोसमेत उच्च जोखिममा रहेका छन् । कृषि तथा वडास्तरीय सडकमा इञ्जिनीयरिङ मापदण्डलाई ख्यालै नगरी उपभोक्ता समिति र डोजर चालक आफैँ इञ्जिनीयर बनेर सडक खन्ने गरेपछि जिल्लाका धेरै स्थानमा ठूल्ठूला पहिरोसमेत गएका छन् ।

सर्वसाधारणको मनखुसी भएका कारण नै ग्रामीण बस्तीमा सडक मनोमानी र मापदण्डविपरीत भएको डोजर चालक बताउँछन् । जसरी पनि भनेको ठाउँमा सडक पुर्याउनुपर्छ भनेपछि आफूहरूले सडक भनेकै स्थानमा पुर्याउने गरेको एक चालकले बताए । सडककै कारण गएको पहिरामा परी म्याग्दीमा विगत तीन वर्षको अवधिमा ३७ वटा सवारी दुर्घटना भएका छन् भने ३० जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क छ ।

विशेष गरी सडक ग्रेडको उचाई धेरै भएको प्राविधिक बताउँछन् । कृषि सडकमा ग्रेड हाइट बढीमा १२ डिग्रीसम्म हुनुपर्नेमा ३५ डिग्रीसम्म खनिएका छन् । यस्ता सडकमा गाडी चल्न मुस्किल हुने र दुर्घटना बढी हुने प्राविधिकको भनाइ छ । रासस