सुनसरी – दुहवीमा २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेद्वार नेकपा एमालेमा प्रवेश गरेका छन् । सुनसरी क्षेत्र नं ३ अन्तरगत दुहवी वडा नम्बर ४ मा तत्कालिन निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार खट्टर मियाँ सहित दुई दर्जन बढी माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।


ADVERTISEMENT


उनीहरुलाई नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरी, १ नम्बर प्रदेश कमिटी सदस्य विनय पोखरेलले आज अबिर, खादा लगाएर पार्टी प्रवेश गराएका थिए । सो अवसरमा बोल्दै एमाले नेतृ भगवती चौधरीले समृद्ध मुलुक निर्माण गर्न र स्थानीय क्षेत्रको विकास गर्ने आधार नेकपा एमालेसँग मात्र रहेको बताउँदै बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्नेगरी काम गर्न निर्देशन दिइन् ।


ADVERTISEMENT

# # #


पछिल्लो समय सुनसरीमा नेकपा एमालेमा प्रवेश गर्नेहरुको संख्या दिनप्रतिदिन बढेको छ । दुहवी नगरपालिका, बर्जु, गढी गाउँपालिका, इटहरी उपमहानगरपालिकामा कांग्रेस, माओवादी, जसपा परित्याग गरी एमालेमा सयौं कार्यकर्ताहरु प्रवेश गर्नेक्रम रहेको एमाले नेतृ चौधरीले बताएकी छन् ।

सुनसरी क्षेत्र नं ३ विकासको दृष्टिकोणले पछि परेको बताउँदै स्थानीय सरकारलाई बलियो र जनउत्तरदायी बनाउन पनि एमालेलाई जिताउनु पर्ने बताइन् । पार्टी सबै जाति, वर्ग, समुदाय र क्षेत्रको साझा रहेको बताउँदै विकासका दृष्टिकोणले पछि परेका क्षेत्र र समुदायलाई पार्टीले विशेष रुपमा हेर्ने पनि बताइन् ।

नेकपा एमालेले हिजो इटहरी उपमहानगरपालिका वडा नं १५ मा सम्पर्क कार्यालय खोलेको छ । उक्त कार्यालय उद्घाटन कार्यक्रममा एमाले नेतृ भगवती चौधरी लगायत नगर, क्षेत्रका एमाले नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।