काठमाडौँ – “राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिए । कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो”, राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहाल गुनासो गर्दै भने ।


ADVERTISEMENT


आज राष्ट्रियसभा अन्तर्गतको ‘दिगो विकास तथा सुशासन समिति’को बैठकमा सांसद दाहालले राहदानी, राष्टिय परिचयपत्रलगायतका अत्यावश्यक सेवामा देखिएको नागरिकको अत्यास लाग्दो तस्बीर प्रस्तुत गरे । उनले भने, “असाध्यै लामो लाइन व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीसहित पाँच कर्मचारी समेत खटिनु पर्यो, जनप्रतिनिधि कै यस्तो हालत छ भने आम सर्वसाधरणले कति दुःख पाएका होलान ।”


ADVERTISEMENT

# # #


मुुलुकभरका कार्यालयमा यही समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ मा विश्वासको मत माग्ने क्रममा प्रतिनिधिसभामा सम्बोधन गर्दै यो समस्या एक वर्षभित्र हल गर्ने प्रतिबद्धता जनाइसकेका छन् । त्यति मात्रै होइन, सत्तारुढ दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो र सर्वसुलभ बनाउने विषयलाई प्राथमिकताका साथ समेटिएको छ ।

दिगो विकास तथा सुशासन समितिको क्षेत्राधिकारमा सार्वजनिक सेवाप्रवाहमा भइरहेको बेथितिलगायतका विषय पर्छन् ।

बैठकमा दाहालले अर्को दृष्टान्त पनि सुनाए । राष्ट्रिय परिचयपत्रको फारम भरेको दुई वर्ष भयो तर अझै हात परेको छैन । समितिको भूमिकालाई प्रभावकारी बनाइ सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन समितिले नीतिगत निर्णय र प्रभावकारी अनुगमन गर्नुपर्ने उनले सुझाव दिए।

वर्तमान सरकारले सार्वजनिक सेवालाई छिटोछरितो र सर्वसुलभ बनाउने सुरुआती निर्णय गरिसकेकाले अब भने जनताले ती सेवा सहज ढङ्गले पाउछन्की भन्ने झिनो आशा पलाएको छ ।

उनले सम्बन्धित राजनीतिक दलभित्र पनि जनताका यी विषयलाई जोडदार उठाएर सेवालाई प्रभावकारी बनाइनुपर्ने खाँचो औंँल्याए । सांसद दाहालको जस्तै अनुभव सांसद रमेशजङग रायमाझीले सुनाए ।

राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), मालपोत र श्रम कार्यालयको सेवा लिन जनता मात्रै होइन जनप्रतिनिधिलेसमेत निकै सास्ती खेप्नुपरेको भन्दै तत्विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता औंँल्याए।

“सेवाग्राहीको समय र खर्च बढेको छ, अन्य सार्वजनिक सेवामा त्यस्तै छ”, उनले भने, “उपयुक्त सेवा प्रवाहको सुक्ष्म अध्ययन र अनुसन्धान गरी सेवालाई छिटोछरितो र प्रभावकारी बनाइनुपर्छ ।”

सांसद कृष्णप्रसाद पौडेलले पनि उनीहरुको भनाइमा सहमति जनाउँदै सार्वजनिक सेवा प्रवाहलाई सर्वसुलभ तथा प्रभावकारी बनाउन समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सार्वजनिक सेवालाई सरकारले छिटोछरितो तथा प्रभावकारी बनाउने घोषणा गरिसकेकाले आगामी दिनमा सहजता आउने विश्वास व्यक्त गरे।

सांसद कमलादेवी पन्तले सार्वजनिक सेवालाई छिटोछरितो र प्रभावकारी बनाउन समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे। सांसद जगप्रसाद शर्माले समितिले राम्रा विषय उठाएर विज्ञ सरोकारवालासँग छलफल गरी निर्णय र निर्देशन दिएको भए पनि सोको कार्यान्वयनको पाटो कस्तो छ भनेर प्रभावकारी अनुगमन हुन नसकेको बताए ।

सांसदहरु महेशकुमार महरा, शारदादेवी भट्ट, भुवनबहादुर सुनार र तुलप्रसाद विश्वकर्माले सार्वजनिक सेवाको प्रभावकारिता, समितिले गरेका निर्देशन, राष्ट्रिय गौरवका आयोजनालगायत विषयमा समितिले अनुगमन गरी सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए ।

समितिका सभापति प्रकाश पन्थले सांसदले उठाएका सार्वजनिक सेवा प्रवाहको सहजता बनाउने विषयलाई प्राथमिकतामा राखेर समितिले सरकार एवं सरोकारवाला निकायलाई आवश्यक निर्देशन तथा अनुगमन गर्ने बताए । उनले नागरिकले पाउने सार्वजनिक सेवा चुस्त र दुरुस्त बनाउन अहिलेको सरकारले सकारात्मक सुरुआत गरेको भन्दै आगामी दिनमा थप सहज हुने विश्वास व्यक्त गरे।

कार्यदल र उपसमिति गठन

यसैबीच समितिले समितिले विगतमा गरेका निर्देशनको कार्यान्वयनको अवस्था, आर्थिक वर्ष २०७८/७९ को निर्णय निर्देशन कार्यान्वयनको अवस्थाको अध्ययन गर्न एक कार्यदल र उपसमिति गठन गरेको छ ।

समितिका सभापति पन्तका अनुसार ‘परामर्श तथा सुझाव कार्यदल’ र ‘आर्थिक वर्ष २०७८/७९ निर्णय निर्देशन अध्ययन उपसमिति’ गठन गरिएको छ । समितिका सभापतिको संयोजकत्वमा गठिन पाँच सदस्यीय कार्यदलमा कमलादेवी पन्त, जगप्रसाद शर्मा, तुलप्रसाद विश्वकर्मा र सिंहबहादुर विश्वकर्मा रहनुेका छन् । त्यस्तै, महेशकुमार महराको संयोजकत्वको तीन सदस्यीय उपसमितिमा नन्दा चपाँई र शारदादेवी भट्ट रहेका छन् । समितिले एक महिनाभित्र आफ्नो अध्ययन प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ । रासस