नेपाली कांग्रेसका युवा नेता तथा अर्थराज्यमन्त्री उदय शमशेर राणासंग हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


निर्वाचनमा तपाईलाई बलियो उम्मेदवारका रुपमा हेरिएको थियो । तर नतिजा फरक आयो । यसको खास कारण के हो ? पराजयको कसरी समीक्षा गर्नुहुन्छ ?


ADVERTISEMENT

# # #


पार्टीभित्र र बाहिर मैले चुनाव जित्ने सम्भावना राम्रो थियो भन्दाभन्दै पनि नतिजा हाम्रो पक्षमा आएन । यसको मुख्य दुईवटा कारण छन् । पहिलो कारण वाम गठबन्धनको भोट एकै ठाउँमा खप्टियो । हामीलाई के लागेको थियो भने एमाले र माओवादीको भोट एर्क ठाउँमा खस्न त खस्छ । तर त्यो हैसियतमा खस्छ भन्ने लागेको थिएन । तर त्यसमा हामी गलत भयौँ । दोस्रो भनेको मेरो क्षेत्रमा नवराज शिलवाललाई अत्यन्तै सहानुभूति गएर पनि मलाई अलि अप्ठ्यारो पार्यो । विशेष गरी यी दुई कारणले मैँले चुनाव हारेको हुँ ।

नेपाली कांग्रेसको पक्षमा पत्यक्षतर्फ भोट नआएपनि समानुपातिकमा राम्रै आएको थियो । खासमा यसले के देखाउँछ ? 

यसमा हामीले प्राविधिक रुपमा चुनाव हारेको हो । नेपाली जनताले कांग्रेसलाई अझैपनि माया गरेको देखाउँछ । समानुपातिकमा हामी लगभग ४० हजार भोटले पछाडि छौँ । माअ‍ोवादीको भोट १६ लाखबाट १४ लाख पुगेको छ । माथि जसलाई हालियो तल पनि त्यही पार्टीलाई भोट हालेका कारण माओवादीको भोट घटेर एमालेलाई फाइदा भएको हो । प्रत्यक्षतर्फको कुरा गर्दा मैँले अघि पनि भनेँ । प्राविधिक कारणले पराजित भएका हौँ । हामीले हाम्रो गठबन्धन बलियो बनाउन सकेनौँ । वाम गठबन्धन चाहि एक ढिक्का भएर चुनावमा लाग्यो । हाम्रोतिर कतिपय ठाउँमा पार्टीभित्र अन्तर्घात भयो भन्ने रिर्पोट जिल्ला जिल्लाबाट आइरहेको छ । व्यवस्थापन मिलाउन नसकेर नै हामीले यो निर्वाचन हारेका हौँ ।

विगतदेखिका हरेक राजनीतिक मोडमा कांग्रेसले नै नेतृत्व गरेको देखिन्छ । तर यस पटक विकास र समृद्धिको एजेण्डालाई उठाइरहँदा कांग्रेस त्यसको लागि चुक्ने हो या अझैँ सम्भावना छ ?

चुक्ने भन्दा पनि कांग्रेसले बारम्बार भन्दै आइरहेको छ कि आजको परिस्थितिमा हामीले सामाजिक परिवर्तन ल्याएका छौ । राजनीतिक परिवर्तन नेपाली कांग्रेसले नेतृत्व गरेको बेला आयो । तर आर्थिक विकासमा हामी चुकेका छौँ । हाम्रो अर्थतन्त्रको हिसाबले हेर्दाखेरी हाम्रो अर्थतन्त्रमा सुनौलो युग भनेको ४६ सालको जनआन्दोलन र ४८ सालको निर्वाचन पछि पाँच वर्षसम्म यो देशले जुन आर्थिक वृद्धि देख्न पायो त्यो नेपाली कांग्रेसकै पालामा भएको हो । प्रजातन्त्र फालेर लोकतन्त्र ल्याइसकेपछि अर्थतन्त्रमा पनि धेरै ठूलो आर्थिक परिवर्तनहरु आएका थिए । त्यो बेला आर्थिक वृद्धिदर अन्य देशको भन्दा उच्च थियो । तर त्यो उचाई हामीले जोगाउन सकेनौँ । विशेष गरेर माओवादीको द्वन्द्व सुरु भइसकेपछि हाम्रो अर्थतत्रमा पनि केही समस्याहरु आए । अब शान्तिप्रक्रिया टुंगिएर निर्वाचन सम्पन्न भइसकेपछि आर्थिक वृद्धि गर्ने सुनौलो अवसर वाम गठबन्धनको नेतृत्वमा आएको छ । उहाँहरुले यो मौकाको फाइदा उठाउन सक्नुपर्छ । पार्टीगत रुपमा मात्र होइन यो देश र जनताको लागि पनि परिवर्तन गर्ने समय आएको छ । उहाँहरुले अन्तराष्ट्रिय अर्थतन्त्र र त्यसका नीतिहरु बुझेर कार्यक्रमहरु तय गर्नुपर्छ । विपक्षमा बसेर पनि अर्थतन्त्रलाई अगाडि बढाउनका लागि नेपाली कांग्रेसको सकारात्मक सहयोग रहन्छ भन्ने कुरा पनि हामी राख्न चाहान्छौँ ।

कांग्रेसमा अब पुनर्जागरण आउनुपर्छ भनेर आवाज उठिरहेको छ । यो भनेको के हो ? तपाईहरु जस्ता युवा नेतृत्व जसले काँग्रेसको विरासत हाक्नका लागि शसक्त रुपमा लाग्नु भएको छ । अब काँग्रेस कसरी अगाडि बढ्नुपर्छ ?

हाम्रो केहि कमी कमजोरीहरु अहिले देखिएका छन् । हामी सबैले यसको जिम्मेवारी लिनुपर्छ । यद्धपी अहिले हालका हाम्रा नेतृत्वले नै सबैभन्दा बढी जिम्मेवारी लिनुपर्छ । साथसाथै शीर्ष नेताहरुले पनि जिम्मेवारी लिनुपर्छ । केन्द्रीय कार्यसमितिमा नेताहरुले सबै दोष एकजनाको टाउकोमा बोकाएर आफू पन्छिनु पनि हुँदैन । यसमा सबैको जिम्मेवारी हुन्छ । मेरो विचारमा केन्द्रीय कार्यसमितिको बैठकले मात्र यसको समाधान गर्न सक्दैन । महासमितिको बैठक बोलाएर यसको छलफल हुनुपर्छ ।

तर, कांग्रेसको नेतृत्व युवाले नै लिनुपर्छ । नत्रभने कांग्रेस सुध्रिन्न भनिन्छ नि ?

युवाले कांग्रेसको नेतृत्व त लिनै पर्छ । तर युवाहरुले कांग्रेसभित्रका नेताहरुको विश्वास लिनसक्नु पर्यो । साथसाथै देशव्यापी रुपमा युवा अगाडि आउनुर्यो भन्ने कुरा आएको छ । तर त्यो विशेष गरेर मौखिक रुपमा मात्र भएको छ । जो व्यक्तिले युवा अगाडि बढ्नु पर्यो भनेको छ युवाहरुलाई बलियो बनाउने भूमिका पनि उसले निभाउन सक्न पर्छ । युवा अगाडि बढ्न पर्छ भनेर ताली बजाएर मात्र हुँदैन । सहयोग पनि गर्नुपर्छ ।

तपाई अहिले अर्थ राजयमन्त्री हुनुहुन्छ । कस्तो रह्यो अनुभव ? बताइदिनुस् न ।

मेरो लागि यो छोटो अनुभव हो । विशेष गरी अर्थ मन्त्रालय जस्तो मन्त्रालयको राज्यमन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी मैँले पाएको छु । अरु भन्दा पनि मेरो लागि एउटा सिक्ने मौका हो । मैँले अर्थमन्त्रालयमा बसेर धेरै सिक्ने अवसरहरु पनि पाएँ । मन्त्रालयका सचिवहरुदेखि लिएर कर्मचारी साथीहरुले पनि मलाई सहयोग नै गरेका छन् । उनीहरुले मलाई कतिपय कामहरु सिकाउने, बुझाउने गरेका छन् । मन्त्रीज्यूको पनि मैले सहयोग पाएँ । एकअर्कोबीच अत्यन्तै राम्रो सहयोग रहेको छ । पार्टी नेतृत्वले मलाई विश्वास गरेर नै यो जिम्मेवारी दिएको हो । वास्तवमा मैँले नेपालको मन्त्रालयको काम कारबाहीबारे सिक्ने अवसर पाएको छु । त्यसको लागि म पार्टी नेतृत्व र मन्त्रालयका कर्मचारी सबैप्रति म आभार प्रकट गर्छु ।

अर्को कुरा तपाई महत्वपूर्ण मन्त्रालयमा हुनुहुन्छ । पछिल्लो समय विकास र समृद्धिका नाराहरु धेरै सुनिन थालेका छन् । यो नारा मात्रै हो या कार्यान्वयनको दिशामा लिन पनि सकिन्छ ?

अब यसको कार्यान्वयन गर्न धेरै गाह्रो छैन । तर त्यसका लागि हामीहरुसंग इच्छा शक्ति हुनुपर्छ । साथै अलिअलि भिजन पनि हुनुपर्छ । सानो खाल्टोमा बसेर एउटा देशको परिस्थिति हेरेर मात्रै होइन । अन्तराष्ट्रिय समुदायमा के भइरहेको छ भनेर जानकार पनि हुनुपर्छ । विशेष गरेर अहिलेको युगमा हामी एक्लै काम गर्न सक्दैनौँ । यसका लागि हामीलाई विदेशी सहयोग चाहिन्छ । सहयोग भन्नाले हामीलाई अनुदान होइन । विदेशी लगानी चाहिन्छ । त्यो विदेशी लगानी भित्र्याउनका लागि आवश्यक वातावरणको सिर्जना पनि हामीले गर्नुपर्छ । गिरिजाबाबु पहिलो पटक प्रधानमन्त्री हुँदा जुन विश्वासको वातावरण उहाँले सिर्जना गर्नु भयो । त्यसले धेरै लगानी भित्र्याएको थियो । तर नेपाली कांग्रेस नेतृत्वको सरकार सकिएर मध्यवधि निर्वाचन पनि एमालेबाट मनमोहन प्रधानमन्त्री हुनुभयो । अरुण तेस्रोलाई स्थगित गर्ने एउटा परिपाटी सुरु भयो । त्यो बेलादेखि आजसम्म लगानीको वातावरण बिग्रिँदै गएको छ । त्यो वातावरण फेरि सिर्जना गर्न अब आउने सरकारले काम गर्नुपर्छ र कांग्रेसले विपक्षमा बसेर त्यो वातावरणका लागि हाम्रो सहयोग हुन्छ । तर मुख्य जिम्मेवारी अब आउने सरकारले लिनुपर्छ । म एउटा सुझाव दिन चाहान्छु । दोस्रो निर्वाचित सरकार जुन ४८ सालमा भएको थियो । त्यो बेला यसले केके गर्यो भन्ने कुराको पाठ सिकेर उहाँहरुले अगाडि बढ्नुपर्छ ।

अन्त्यमा, आफ्ना मतदातालाई के भन्नुहुन्छ ?

मतदातालाई म धन्यवाद व्यक्त गर्न चाहान्छु । मतदाता आफ्नो हुँदैन । यो सबैको मतदाता हो । मलाई भोट हालेको साथीहरुलाई पनि र मलाई भोट नहालेको साथीलाई पनि म आभार व्यक्त गर्न चाहान्छु । हाम्रो मुल उद्देश्य निर्वाचन जित्ने हुँदाहुँदै पनि शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेर हामीले ल्याएको संविधानलाई व्यावहारिक रुपमा स्थापित गर्नका लागि हाम्रो जिम्मेवारी पूरा भएको छ । नेपाल सरकारको अर्थ राज्यमन्त्रीको हैसियतले सबै नेपाली नागरिक, सबै मतदातालाई म धन्यवाद व्यक्ति गर्न चाहान्छु ।