काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीको केन्द्रीय सम्झौता नवीकरण गरेको छ । क्यानको फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सन् २०२४ का लागि केन्द्रीय सम्झौतामा रहने खेलाडीको वगीकरण गरेको हो ।
क्यानले पुरुषतर्फ ३० जना खेलाडीलाई केन्द्रीय सम्झौतामा समेटेको छ भने महिलातर्फ १९ जना खेलाडीलाई समेटेको हो । जस अनुसार पुरुषतर्फ ६ जना खेलाडी ‘ग्रेड ए’मा अटार्एका छन् । ‘ग्रेड ए’मा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण के.सी., दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल रहेका छन् । क्यानका अनुसार उनीहरुको मासिक तलब १ लाख रुपैया रहेको छ । यसअघि क्यानले ‘ग्रेड ए’ का खेलाडीलाई मासिन ६० हजार रुपैयाँ दिँदै आएको थियो ।
यस्तै पुरुषतर्फ ‘ग्रेड बी’मा कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा अटाएका छन् । उनीहरुको मासिक तलब ७० हजार रुपैयाँ हुनेछ । यस्तै ‘ग्रेड सी’मा बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी. रहेका छन् भने उनीहरुको तलब ५५ हजार रुपैयाँ रहने क्यानले जनाएको छ ।
क्यानले गरेको वर्गीकरण अनुसार ‘ग्रेड डी’मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक कुमार यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ रहेका छन् । उनीहरुको मासिक तलब ३५ हजार रहेको छ ।
यस्तै क्यानले ७ प्रदेशबाट ११ जना खेलाडीलाई ‘इमर्जिङ क्याटेगरी’मा राखेको छ । जसअनुसार दिपेश कंडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदुर पश्चिम) वर्गीकरणमा परेका छन् । क्यानका अनुसार उनीहरुको तलब मासिक २५ हजार रुपैयाँ हुनेछ ।
यस्तै महिलातर्फ ‘ग्रेड ए’मा कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर परेका छन् । उनीहरुको तलब मासिक ५० हजार रुपैयाँ हुनेछ । यस्तै ग्रेड ‘बी’मा कविता कुँवर परेकी छन् । उनको तलब ३५ हजार हुनेछ । यस्तै ग्रेड ‘सी’मा पूजा महतो र अश्मिना कर्माचार्य रहेका छन् । उनीहरुको मासिक ३० हजार रुपैयाँ हुनेछ ।
यस्तै समूह ‘डी’मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल रहेका छन् । उनीहरुको मासिक तलब २५ हजार रुपैयाँ हुनेछ । यस्तै क्यानले ‘ईमर्जिङ क्याटोगरी’मा सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रविनलाई समेटेको छ । उनीहरुको तलब मासिक २० हजार रुपैयाँ रहेको क्यानले जनाएको छ ।