काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसंगको भेटमा सामान्य कुराकानी मात्रै भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT


बुढानिलकण्ठमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा देउवाले ओलीसंग चियागफमात्रै भएको जानकारी गराएका हुन् । बैठकपछि कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले एमालेसंगको सम्बन्ध सकारात्मक र सुमधुर रहेको देउवाले बताएको जानकारी दिए । विश्वकर्माले शीर्ष नेताहरुबीच छलफल हुँदा सरकार परिवर्तनको विषयमा चर्चा हुनु स्वाभाविक भएपनि पार्टी बैठकमा सरकार परिवर्तनको बिषयमा छलफल नभएको बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले कांग्रेस ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरा अनौठो नभएको भन्दै नेतृत्व तहले विभिन्न दलहरुसँग छलफल गरिरहेको बताए । अहिलको सत्ता भन्दा पनि मुद्दा ठूलो कुरा भएको भन्दै प्रवक्ता महतले दीर्घकालीन रुपमा अगाडि जाने परिस्थिति बने सरकारको विषयले प्राथमिकता पाउने उल्लेख गरे ।

बिनामुद्दा सरकारमा जान कांग्रेसले प्राथमिकता नदिने उनको भनाइ छ । त्यस्तै प्रवक्ता महतले ऋण लिएर बीआरआई कार्यान्वयन गर्न नसकिने पार्टीको स्पष्ट धारणा राखेको जिकिर गरे । अनुदान नै कार्यान्वयन गर्न नसकिएका बेला ऋणको आकार थप्न नसक्ने पार्टीको निष्कर्ष रहेको उनको भनाइ छ ।

बैठकमा कांग्रेसको महासमितिको बैठकबाट पारित दस्तावेज केन्द्रीय कार्यसमितिमा लैजानेबारे छलफल भएको थियो भने भातृसंघसंस्थाहरुको समयावधि थप गर्ने निर्णय बैठकले गरेको छ ।