काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले कांग्रेसले धर्म, जात वा राजसंस्थाको नभई मानवताको आधारमा राजनीति गर्ने पार्टी भएको स्पष्ट पारेका छन्।


ADVERTISEMENT


तार्केश्वर नगरपालिका–९ मा आयोजित वडा सम्मेलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बानियाँले राजनीति जनताको हितका लागि हुने बताउँदै स्वास्थ्य, शिक्षा र सुविधामा पहुँच पुर्‍याउनु नै राजनीतिको मुख्य उद्देश्य भएको बताए।


ADVERTISEMENT

# # #


धर्म र जातको नाममा राजनीति गर्नु सान्दर्भिक छैन। हामी जनताको हितमा, उनीहरूको जीवनस्तर उकास्नको लागि राजनीतिमा छौं’ उनले भने, ‘राजालाई पनि मर्यादामा स्वीकार्दै आएको कांग्रेसलाई धर्मको नाममा नौटंकी गर्दै राजनीति गर्नु स्वीकार्य छैन।’

उनले प्रजातन्त्रले सबै नागरिकलाई विश्वभर अवसर खोज्न स्वतन्त्रता दिएको उल्लेख गर्दै भने, ‘पहिले राजसंस्थामा उपचारका लागि पनि विदेश जान पाइँदैन थियो, तर अहिलेको व्यवस्थाले सबैलाई आफ्नो जीवन सुधार्ने ढोका खोलेको छ।’

राजा र राणा वंशका मानिसहरूलाई समेत अहिलेको व्यवस्थाले स्थान दिएको जिकीर गर्दै उनले भने, ‘राजालाई पनि स्थान छ, यदि पार्टी खोलेर जनताको बहुमत ल्याउन सक्नुहुन्छ भने आउनुस्, प्रतिस्पर्धा गर्नुहोस्। तर जनतालाई भ्रममा पार्ने काम नगरियोस्।’

त्यसैगरी, उनले वर्तमान प्रणालीलाई चुनौती दिँदै आउने राप्रपाजस्ता दलहरूलाई पनि जनताको पक्षमा काम गर्न स्पष्ट सन्देश दिए।

‘राज्य र जनताको पक्षमा जो काम गर्न आउँछन्, उनीहरूलाई स्वागत छ’, उनले भने, ‘तर व्यवस्था उल्ट्याउने सपना देखेर होइन, जनताको हितमा काम गर्ने उद्देश्य लिएर आउनुपर्छ।’