मोरङ — प्रहरीले एक भारतीय नागरिकलाई ४५ लाख नगदसहित मंगलबार विराटनगर १५ बाट पक्राउ गरेको छ । भारतको अररिया जिल्लाको फारबिसगञ्ज–१ का ४५ वर्षीया नारायण साहलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


भारतको जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको बिआर११एए ६२६५ नम्बरको कारलाई चेक गर्दा सिटमुनी लुकाएर राखेको अवस्थामा उक्त रकम बरामद भएको इलाका प्रहरी रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए। कारको चालक छेउको सिटमुनीबाट एक हजारको दरको ३४ सय ५ सय दरको २१ सय र १ सय दरको ५ सय नोट बरामद भएको उनले बताए। उनले बरामद भएको नगद, कार र साहलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले उक्त रकम भारतबाट के, कसरी आएको हो भन्नेबारे अनुसन्धानपछि खुल्ने बताए। भारतीय बजारमा नेपाली ग्राहकबाट जम्मा भएको उक्त रकम हुण्डी कारोबारीहरुले ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।

नेपाली ग्राहकले सीमावर्ती भारतीय बजारमा किनमेल गर्दा बुझाएको रकम भारतीय व्यापारीहरुले अबैध रुपमा नेपालतर्फ ल्याउने गरेको प्रहरी स्रोतले बताए। नेपालतर्फ ल्याएको रकम बराबरको यसअघि सुन वा हुण्डीमार्फत भारतमा नै भारतीय रुपैयाँ व्यापारीले लिँदै आएको प्रहरी स्रोतको भनाई छ। भारतबाट नेपाली रुपैयाँ यहाँ ल्याउने र यहाँबाट सुन वा हुण्डीमार्फत भारतमा नै पैसा भुक्तानी दिने व्यबस्थापन हुण्डी कारोबारीहरुले मिलाउँदै आएको उनी बताउँछन्।

प्रहरी उपरीक्षक बिसीले मुद्रा बिनिमय ऐन वा, सम्पति शुद्धीकरण वा राजश्व अनुसन्धान अन्तर्गत कुन मुद्दा चल्ने हो त्यही अनुसार मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए।