काठमाडौँ– सोलुखुम्बुका ३७ वर्षीय पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति बन्ने गौरव हासिल गरेका छन्।
एक्सपेडिसन हाई माउन्टेन ट्रेक्सका प्रबन्ध निर्देशक पेम्बा गेल्जे शेर्पाका अनुसार, उनले मे १४ का दिन बिहान ९ः३० बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन्।
सन् २०२० मा जापानबाट फर्केपछि पेम्बालाई मिर्गौला फेल भएको थियो। त्यसपछि उनका पिता आङ ग्याल्जेनले उनलाई आफ्नो एक मिर्गौला दान गरेका थिए। ‘दुबै मिर्गौला फेल भएपछि बुबाले तुरुन्तै सहयोग गर्नुभयो’, पेम्बाले भने । उपचार र पुनःस्वास्थ्यलाभको प्रक्रिया झण्डै ३० महिना लामो रह्यो।
सर्जरीपछि जीवनको नयाँ अध्याय सुरु गर्ने अठोटका साथ पेम्बाले सन् २०२४ मा लोबुचे हिमाल आरोहण गर्दै सगरमाथाको तयारी थालेका थिए। मे १४ मा उनले अमेरिकन पर्वतारोही माइकल गुटविन र सौरभ भसीन तथा नेपाली पर्वतारोही सजन डंगोल, पेम्बा ओङचु शेर्पा र ग्याल्जे शेर्पासहित सगरमाथाको सफल आरोहण गरे।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका नेपाल प्रतिनिधि थानेश्वर गुरागाईंले पेम्बाको कीर्तिमानलाई आधिकारिक रूपमा प्रमाणित गरेका छन्। यति समूहका अध्यक्ष तथा कीर्तिमानी आरोही ल्हाक्पा सोनाम शेर्पाले भने, ‘पेम्बा मिर्गौला प्रत्यारोपणपछिका मानिसहरूका लागि आशाको प्रतीक बनेका छन्।’
आफ्नो यात्राबारे पेम्बाले भने, “डायलाइसिसको पीडा कहिल्यै फर्काउन चाहन्न। अठोट, आत्मबल र समर्थनले असम्भव देखिने सपना पनि पुरा गर्न सकिन्छ।”



























































