काठमाडौँ— रौतहट बम विस्फोट घटनामा संलग्न ठहर गरिएका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको फैसलामा संलग्न दुई न्यायाधीशविरुद्ध न्यायपरिषदमा छानबिनको माग गरिएको छ।
न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनले आलमसहित अन्यलाई सफाइ दिने फैसला गरेपछि नागरिक युबराज पौडेलले उनीहरूविरुद्ध उजुरी दर्ता गराएका हुन्। पौडेलले उजुरीमार्फत दुवै न्यायाधीशलाई पदबाट निलम्बन गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग छ ।
पौडेलले न्यायाधीशद्वयको अघिल्ला फैसलाहरू पनि पुनरावलोकन गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार, जिल्ला अदालतले यसअघि आलमविरुद्ध पर्याप्त प्रमाण प्रस्तुत गर्दै विशेष आदेशसमेत जारी गरेको थियो। ती प्रमाण र आदेशहरूलाई बेवास्ता गर्दै सफाइ दिएको फैसलामा गम्भीर त्रुटि रहेको भन्दै छानबिनको आवश्यकता औँल्याइएको छ।
गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहितलाई बम विस्फोटपछि घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको आरोपमा सफाइ दिएको थियो। यो फैसलापछि सामाजिक, राजनीतिक र न्यायिक क्षेत्रमै आलोचना सुरु भएको छ।
न्यायपरिषद् ऐनअनुसार कार्यक्षमताको अभाव, आचारसंहिताको उल्लंघन वा खराब आचरण देखिएमा न्यायाधीशविरुद्ध छानबिन प्रक्रिया अघि बढाउन सकिने प्रावधान छ।