बैतडी — बैतडी जिल्लाको सुर्नया गाउँपालिका–८ मा ठेउला (बिमिरा) र ज्वरोको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठन ( डब्लूएचओ) अन्तर्गतको ‘इम्युनाइजेशन प्रिभेन्टेबल डिजिज’  (आईपिडी) टिमले स्थलगत निरीक्षण गरी आवश्यक स्वास्थ्य सहायता प्रदान गरेको छ।


ADVERTISEMENT


असार ५ गते संक्रमण देखिएपछि डब्लूएचओ–आईपिडीको टोलीले प्रभावित क्षेत्रमा पुगेर रोगको प्रकृति बुझ्न संक्रमित बिरामीको घाँटीको स्वाब र रगतको नमूना संकलन गरेको थियो। संक्रमण बालबालिकामा देखा परेपछि सुर्नयाको केदार माध्यमिक विद्यालय, कठमडा अस्थायी रूपमा बन्द गरिएको छ।


ADVERTISEMENT

# # #


स्वास्थ्य शाखा प्रमुख महराका अनुसार संक्रमण फैलिन नदिन आइसोलेसन, व्यक्तिगत सरसफाइ, र वातावरणीय सरसफाइमा जोड दिइएको छ। गाउँपालिकाले सबै नागरिकलाई आवश्यक सतर्कता अपनाउन अपिलसमेत गरेको छ।

स्वास्थ्य कार्यालय बैतडी, डब्लूएचओ–आईपिडी र गाउँपालिकाबीच समन्वयमा प्रभावित क्षेत्रमा विभिन्न जनस्वास्थ्य गतिविधि सञ्चालन गरिएको छ। असार ६ गते प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष, स्वास्थ्य र शिक्षा शाखा प्रमुखसहितका पदाधिकारीहरूको छलफलबाट आवश्यक रणनीति तय गरिएको थियो।

७२ घण्टाको अवधिमा डब्लूएचओ–आईपिडी टिम र स्वास्थ्य कार्यालयले निम्न कार्यहरू सम्पन्न गरेका छन् :

– आउटब्रेक इन्भेस्टिगेसन — संक्रमितको संख्यामा वृद्धि भएपछि डब्लूएचओ–आईपिडी टोली घटनास्थलमा पुगेर महामारी अनुगमन तथा मूल्यांकन गरेको।

– नमूना संकलन — प्रभावित बिरामीका घाँटीको स्वाब र रगतको नमूना संकलन गरी परीक्षणको लागि प्रयोगशालामा पठाइएको।

– जनप्रतिनिधि र स्वास्थ्यकर्मी अभिमुखीकरण — उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य र शिक्षा शाखा प्रमुख लगायत स्थानीय स्वास्थ्य संस्थाका प्रमुखहरूसँग ठेउला रोग र खोपबाट रोकथाम गर्न सकिने रोगहरूबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन।

– विद्यालय र समुदायमा सचेतना — विद्यालयमा विद्यार्थी, शिक्षक र स्थानीय महिला स्वास्थ्य स्वयंसेविकासँग छलफल गरी संक्रमण नियन्त्रणबारे जानकारी।

– भिटामिन ए वितरण — संक्रमित बालबालिकालाई भिटामिन ए सप्लिमेन्ट उपलब्ध गराइयो।

डब्लूएचओ–आईपिडी टोलीले छोटो समयमा उच्च प्रभावकारिता देखाउँदै स्थानीय जनस्वास्थ्य सुरक्षामा उल्लेखनीय योगदान दिएको छ।

स्वास्थ्य कार्यालय बैतडीले प्रभावित क्षेत्रमा निरन्तर निगरानी र आवश्यक स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।