काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा राप्रपा र रास्वपाले गर्दै आएको विरोधलाई सरकारको के गर्यो भन्ने प्रश्नबाट बहकाएर अर्थहिन विषयमा विषयान्तर गर्ने प्रयास रहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले विषयान्तर गरिएको कप्टी बहस देशको समृद्वि तथा देशमा केही गरौं भन्ने युवाहरुका लागि बहस गर्नका लागि नभई उनीहरुलाई आरोप, गाली र निन्दा कन्टेट उत्पादनमा भुलाउने र समाजलाई उत्तेजनामा ल्याउने नियत रहेको आरोप लगाए ।
संसदमा उछालिएका कतिपया विषय राष्ट्रियता प्राथमिकता र आवश्यकतामा आधारित नभएको उनले औल्याए । दुई पार्टीको विरोध देश र जनताको हितमा काम गर्नुपर्ने सदनलाई झुठा कथा सिर्जना गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन थलो बनाउने दुष्प्रयास रहेको उनको भनाई छ ।
‘के आजको हाम्रो राष्ट्रिय आवश्यकता यहि हो ?’, उनले प्रश्न गरे । प्रतिपक्षमा भएपनि जनताको मत लिएर आएपछि प्रतिपक्षको पनि देशप्रति केही न कहेी दायित्व रहने स्मरण समेत गराए ।


























































