काठमाडौँ – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद भएको छ ।
बुधबार काठमाडौंमा बोलाइएको अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरुबीच विवाद भएको थियो । संस्थापन पक्षले एकलौटी ढंगले अधिवेशन अघि बढाएर नेतृत्व चयन गर्न लागेको भन्दै राणा निकट युवाहरुले विरोध जनाएका थिए ।
दुई पक्षबीच विवाद बढ्दै गएपछि स्थीतिलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र बसेर अनुशासनहिन कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी दिदै अधिवेशन स्थगितको घोषणा गरेका थिए । उनले कसैलाई प्रक्रियामा चित्त बुझेको छैन भने बन्द सत्रमा छलफल हुने आश्वासन दिदा समेत असन्तुष्ट पक्षले नेतृत्वको विरोधमा नारा लगाएका थिए ।
त्यस्तै महाधिवेशनस्थलबाट बाहिरिदै गर्दा लिङदेनले बाहिरका मान्छेको घुसपैठ भएको आशंका गरे । उनले विवादका विषयलाई पार्टीले मिलाउने उल्लेख गरे ।
अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गरेपनि असन्तुष्ट पक्षले भने नयाँ कार्यसमिति समेत घोषणा गरेको छ । असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको हो ।


























































