काठमाडौँ – नेपाली क्रिकेट टोलीले एकैदिन तीन खेलमा हार व्यहोरेका छन् । नेपाली सिनियर टोलीले अष्ट्रेलियामा र नेपाल ‘ए’ टोलीले भारतको आसाममा भएका खेलमा हार व्यहोरेका हुन् ।
बिहीबार अष्ट्रेलियाको घरेलू टोली साउथ अष्ट्रेलियासँग भएका दुई खेलमा नेपाली सिनियर टोली क्रमशः ३ विकेट र ३ रनले हारेको हो । पहिलो खेलमा पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनायो । नेपालका लागि भीम सार्कीले ३२, दीपेन्द्रसिंह ऐरीले २६ र आशिफ शेखले २२ रन बनाए भने साउथ अष्ट्रेलियाका थम्प्सन, एन मनेन्ती र टी ब्राउनले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै जित हात पारेको हो । अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा उसले जित हात निकालेको हो । उसका लागि एनपी विन्टरले ३६, हुजेनबकोइजेमले २८ र एन डब्ल्यू हार्वेले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले ३, नन्दन यादवले २ र कप्तान रोहित पौडेलले १ विकेट हात पारे ।
यस्तै दोस्रो खेलमा पहिलो ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा १६० रन बनायो । १६१ रनको लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको नेपाल निधारित २० ओभरमा सबै विकेट गुमाउँदै १५७ रनमै समेटिएको हो । नेपालका लागि रुपेश सिंहले ३७, लोकेश बमले ३२, भीम सार्कीले २९ रन बनाए ।
यता भारतको आसाममा घरेलू टोलीसँगको पहिलो खेलमा नेपाल ‘ए’ले १५ रनको हार व्यहोरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले डीएलएस मेथडमा १५ रनले हारेको हो । त्यसअघि आसामले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९० रन बनाएको थियो ।
नेपालले पच्छ्याइरहँदा वर्षा भएपछि ८ ओभरमा ८० रनको चुनौती पाएको थियो । तर नेपाल ८ ओभरमा ६४ रनमै समेटिएको हो ।



























































