– नन्दी केशर पौड्याल
सिंहदरबार–राष्ट्रको गौरव, राज्यसत्ताको केन्द्र र नेपाली जनताको गर्व। यसलाई आगोको लप्कामा हराउँदा कुनै पनि सच्चा देशभक्तको मुटु चिरिनु स्वाभाविक हो। भवन मात्र जल्दैन, त्यससँगै जल्छ देशको इज्जत, भविष्य र नागरिकको सपना।
आजको जेन जेड पुस्ता किन यति आक्रोशित छ ? यसको उत्तर सजिलो छैन। उनीहरू जन्मिएदेखि नै भ्रष्टाचार, बेथिति, बेरोजगारी र असमानतामाझ हुर्किए। पढे, लेखे, श्रम गरे तर काम पाएनन्। अवसर खोजे, तर घुस नदिई ढोका खुलेन। राज्यमा न्याय खोजे, तर त्यहाँ पनि दलाल र दलको सेटिङमै कुरा टुंगियो। यस्तो वातावरणमा उनीहरूको विद्रोह अस्वाभाविक होइन।
युवाहरू सडकमा निस्कनु साहसिक कदम थियो। तर दुखद पक्ष के भयो भने, उनीहरूको आक्रोशलाई केही समूहहरूले आफ्नो स्वार्थमा प्रयोग गरे। विद्रोहलाई सकारात्मक बाटोतर्फ लैजान सकिन्थ्यो, तर राष्ट्रकै सम्पत्तिमा आगो लगाएर उनीहरूको पीडा र सपना नै कमजोर बनाइयो।
सिंहदरबार वा सर्वोच्च अदालत जलाउनु भनेको केवल भवन जलाउनु होइन—राष्ट्र जलाउनु हो। यस्तो कार्य गर्ने जो–कोही पनि देशभक्त होइन, बरु राष्ट्रघाती हो।
नेपालमा भ्रष्टाचार संस्कार नै बनेको छ। दल, नेता, कर्मचारी र दलाल—सबै मिलेर राष्ट्रको ढुकुटी दोहन गर्छन्। यहाँ “२१औँ शताब्दीको भाषण” हुन्छ, तर काम १८औँ शताब्दीको शैलीमा हुन्छ।
म स्वयं निजी क्षेत्रमा लगानी गरेर व्यवसाय गर्दै आएको छु। म चित्त बुझ्दो कर तिरेर, इमानदारीपूर्वक काम गर्न चाहन्छु। तर सत्य यही हो—घुस नदिएर कुनै पनि काम अघि बढ्दैन। कागजपत्र अघि बढाउने सानो कामदेखि ठूला अनुमति लिनेसम्म, सबै ठाउँमा पैसाको खेल चल्छ। पीडा त झन् त्यो हो—सुन्ने वा सुनीदिने जिम्मेवारी भएका व्यक्तिहरू पनि घुसकै आधारमा चल्छन्। इमानदारीपूर्वक कर तिरेको नागरिकलाई सम्मान होइन, उल्टै अपमानको अनुभव हुन्छ।
जनता कर तिर्न बाध्य छन्। नेताहरू भने विलासी जीवनमा रमाइरहेका छन्। निजी क्षेत्र, जसले रोजगारी सिर्जना गर्छ, उत्पादन गर्छ, मुलुकलाई कर तिरेर चलाउँछ—त्यो नै भ्रष्टाचारको चक्रले थिचिएको छ।
हामी निजी क्षेत्रका व्यक्तिहरू बाहिरबाट शान्त देखिए पनि भित्रभित्रै रोइरहेका हुन्छौँ। कहिलेकाहीँ रिसले कराउँदै हिँड्न मन लाग्छ, तर सुन्ने कोही हुँदैन। यही कारणले युवाहरू बिदेशतिर पलायन भएका छन्। देशमा इमानदारीपूर्वक काम गर्ने वातावरण नभएपछि उनीहरूले आफ्नो भविष्यको खोजी बाहिरै गर्नुपरेको हो।
युवाको विद्रोहलाई बुझ्नुपर्छ, तर राष्ट्रलाई जलाएर होइन, पुनर्निर्माण गरेर परिवर्तन ल्याउनुपर्छ। भ्रष्ट नेताहरूलाई चेतावनी दिनुपर्छ, तर सम्पत्ति नष्ट गरेर होइन, संस्थागत सुधारको बाटोबाट।
युवाले देखाएको आक्रोशलाई शान्तिपूर्ण आन्दोलन, सिर्जनात्मक अभियान र राष्ट्रिय पुनर्निर्माणतर्फ मोड्न सकियो भने मात्र देशले उज्यालो देख्छ। भ्रष्टाचार गर्नेहरूलाई जनताको आँसु र पीडा कहिल्यै माफ हुने छैन भन्ने सन्देश दिन जरुरी छ।
सिंहदरबार जलाउनु राष्ट्रघात हो। तर सिंहदरबारभित्र वर्षौँदेखि चल्दै आएको भ्रष्टाचारलाई ढाकछोप गर्नु अझ ठूलो अपराध हो। अब समय आएको छ—देशलाई जलाउन होइन, बचाउने, सम्पत्ति नष्ट गर्न होइन, जोगाउने।
युवाहरूको आक्रोश र निजी क्षेत्रको पीडा दुबैलाई राज्यले सम्बोधन नगरेसम्म मुलुकले शान्ति, समृद्धि र न्याय पाउने छैन।
इतिहासले अन्ततः यही लेख्नेछ— “नेता मौजमा थिए, जनता रोइरहे, र युवाहरू जलिरहेको सिंहदरबारको धुवाँमा आफ्नो भविष्य खोजिरहेका थिए।”



























































