काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएका केही प्रतिनिधिले असन्तुष्टि जनाएका छन्।
शुक्रबार मतदानका लागि तोकिएको साँझ ५ बजेको समय सकिएपछि मतदानस्थलको ढोका बन्द गरिएसँगै केही प्रतिनिधि मतदानबाट वञ्चित भएका हुन्। उनीहरूले पाँच बजेर केही मिनेटमा मतदानस्थल पुगे पनि मतदान गर्न नदिएको गुनासो गरेका छन्।
प्रतिनिधिहरूले तीन दिनका लागि तय गरिएको महाधिवेशन नै छ दिनसम्म लम्बिँदा समस्या नपरे पनि आफूहरू केही मिनेट ढिलो पुगेकै कारण मतदानको अधिकारबाट वञ्चित गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
केन्द्रीय निर्वाचन आयोगका अनुसार करिब ४ हजार प्रतिनिधि रहेकामा पदाधिकारी निर्वाचनमा १५ सयभन्दा कम मत खसेको छ।



























































