काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक भएर अघि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पुनः छलफलमा जुटेका छन् ।
निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचि निर्वाचन आयोगमा बुझाउने मिति नजिकएसँगै उनीहरु एकसाथ निर्वाचनमा जाने गरी सहमति गर्न पुनः छलफलमा जुटेका हुन् । बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित घरमा उनीहरु वार्तामा छन् ।
यसअघि केही दिन अघि उनीहरुबीच कमलपोखरीस्थित एक घरमा ६ घण्टा लामो छलफल भएको थियो । जसमा रविले बालेनलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि बढाउने सहमति भएको समाचार बाहिरिएका थिए । तर, यसले औपचारिक स्वरुप पाउन नसकेपछि बालेन आफ्नै नेतृत्वमा देशविकास पार्टी र चुनाव चिह्न लौरोमार्फत निर्वाचनमा जाने तयारीमा जुटेका थिए ।
त्यसअघि उनी रविसँग निर्णायक वार्तामा जुटेका हुन् । यसैबीच रवि र बालेनको वार्ता चलिरहँदा जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले बालेन र रवि मिल्नुपर्ने भन्दै दबाब दिन उनीहरु बसेको कोठाको ढोकामै ताल्चा लगाइदिएका छन् ।
नमिलेसम्म बाहिर आउने नदिने भन्दै उनले त्यस्तो गरेको बताए । उनले भने, ‘हाम्रो दुईजना नेता भित्र हुनुहुन्छ । जबसम्म उहाँहरु दुईजना मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिरहेका छौँ ।’
जेन–जी आन्दोलनलाई सार्थकता दिन नयाँ दलहरु मिल्नुपर्ने भन्दै उनले मिलाउने प्रयास गर्दै आएका छन् ।



























































