काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको सीमा बढाउन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय भन्सार दिवसका सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या भएको भन्दै नगद कारोबारको सीमा बढाउन आग्रह गरेका हुन् । बैंकिङ पहुँच देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले केहि असर परेको उनको भनाइ छ ।
उनले अहिले आर्थिक नीतिहरु पुनरावलोकन गर्ने सहि नेतृत्व र सहि समय भएको बताए । अध्यक्ष ढकालले भन्सार राजस्वलाई मात्र प्राथमिकता दिनुभन्दा स्वदेश उत्पादन र उद्यमशीलता प्रवद्र्धन नीतिमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले पाँच लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई समस्या सिर्जना गरेको बताए । उनले भन्सार क्षेत्रलाई थप प्रविधिमैत्री र एकद्वार प्रणाली कार्यान्वयन गर्न सुझाव दिए ।
विद्यमान भन्सार ऐनमा रहेका दण्ड–जरिवानासम्बन्धी व्यवस्था अव्यवहारिक रहेकाले पुर्नबिचार गर्न उहाले सुझाव दिए । नेपालमा भन्सारका दरहरु समायोजन गर्दै प्रतिपष्र्धी बजारहरुको निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।



























































