काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्वसभामुख नान्सी पेलोसी नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुईपक्षीय हित, समसामयिक राजनीतिक र विकास आयोजनाका सम्बन्धमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीचको सम्बन्धबारे बोल्दै भ्रमण निकै फलदायी हुने गरेको बताएको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकी सहयोग महत्वपूर्ण रहेको भन्दै प्रधनमन्त्रीले भने, “नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकाको सहयोग प्रशंसनीय छ । दुई वर्षअघि नेपालमा गएको भूकम्पका बेला अमेरिकाले उद्धार, राहत र पुनःनिर्माणमा खेलेको भूमिका महत्वपूर्ण छ । त्यसका लागि यहाँहरुमार्फत म अमेरिकी सरकार र जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

नेपाल राजनीतिक स्थिरता, विकास र आर्थिक समृद्धिको यात्रामा लम्किरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अमेरिकी लगानी र अनुदानमा नेपालमा सञ्चालित आयोजनाले आर्थिक समृद्धिका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए ।

भेटका अवसरमा प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्यायको सिद्धान्तलाई ध्यान दिँदै नेपालले आफ्नै मौलिकतामा शान्ति प्रक्रियालाई सफलतामा पुर्याएको जानकारी दिए ।

भेटमा अमेरिकी कंग्रेसका सदस्यले नेपालको शान्ति प्रक्रिया, मानवअधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौतालगायतका विषयमा प्रधानमन्त्रीसँग चासो राखेका थिए ।

प्रतिनिधिमण्डलले राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयले अमेरिकी कूटनीति र परराष्ट्र सम्बन्धमा कुनै फरक नपर्ने जानकारी दिँदै नेपालका विकास आयोजनामा अमेरिकी सहयोग र लगानी गर्न आफूहरु तयार रहेको बताए ।