– विजय गौतम
राजनीति फरक धारमा बग्न सक्छ, विचारहरू फरक हुन सक्छन्, तर जनताको मन जित्ने काम भने कर्मले मात्रै सम्भव हुन्छ। यही वास्तविकतालाई प्रमाणित गरेका छन् बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले।
स्थानीय बासिन्दाहरूका अनुसार, आफूहरू राजनीतिक रूपमा बानियाँसँग सहमत नभए पनि उनको काम, सोच र जनताप्रतिको समर्पणले मन जितेको छ। “उहाँ जति राजनीतिमा सामाजिक र मकवानपुरे जनताप्रति समर्पित नेता अरू कोही हुन सक्दैन,” भन्ने भावनाले धेरैको मन छोएको छ।
बानियाँको जीवनको एउटा गहिरो पाटो पनि छ—जेन जि आन्दोलनका क्रममा आफ्नै घर जलेको पीडा। तर त्यही पीडालाई उनले व्यक्तिगत दुःखमै सीमित राखेनन्। बरु, त्यही अनुभूतिलाई शक्ति बनाएर आज उनी जनताको घर बनाउने अभियानमा अग्रसर छन्। आफ्नो घर गुमाउने पीडा बुझेका कारण नै उनले घरविहीनका आँसु पुछ्ने संकल्प लिएका छन् भन्ने धेरैको विश्वास छ।
मुख्यमन्त्री बानियाँले बारम्बार आफ्नो काममार्फत सन्देश दिएका छन्—सुविधा व्यक्तिगत उपभोगका लागि होइन, जनताको सेवा र कल्याणका लागि हो। गरीबका लागि घर निर्माण, हेटौँडा अस्पतालमा प्रदेशको प्रत्यक्ष लगानी, र जनतालाई स्वरोजगार बनाउने अभियान उनका प्रमुख कामका उदाहरण बनेका छन्।
विशेष कुरा के छ भने, उनी व्यवसायी पृष्ठभूमिबाट आएका भए पनि राजनीतिमा आएपछि व्यक्तिगत लाभ होइन, जनताको हितलाई प्राथमिकतामा राख्दै आएका छन्। “दुःखीलाई दिने मेरो गोजीबाट हो,” भन्ने उनको अभिव्यक्तिले नेतृत्वको फरक शैली झल्काउँछ।
यस्तै काम र व्यवहारले गर्दा मकवानपुरे जनताको मनमा उनीप्रति सम्मान र विश्वास अझ गहिरिँदै गएको छ। फरक राजनीतिक धारका मानिसहरू समेत आज एकै स्वरमा भन्छन्—“धन्यवाद मुख्यमन्त्रीज्यू, तपाईंले कामले उत्तर दिनुभयो।”
आफ्नो पीडालाई जनताको सेवामा रूपान्तरण गर्ने बानियाँको यात्रा आज मकवानपुरको शान बनेको छ, जसले प्रदेशप्रतिको स्वाभिमान र जनताप्रतिको समर्पणलाई अझ उचाइमा पुर्याएको छ।
(गौतम नेपाली कम्युनिस्ट पार्टीका युवा नेता हुन् ।)


























































