काठमाडौं– उदयपुरको कटारी नगरपालिका–४ की पूर्णिमा कार्की ‘मिस सुपरनाशनल नेपाल २०२६’ घोषित भएकी छन्। सोमबार काठमाडौंको सोल्टीमोडस्थित होटल क्राउन इम्पोरियममा आयोजित ‘मिस्टर एन्ड मिस सुपरनाशनल नेपाल २०२६’ को भव्य क्राउनिङ समारोहमा कार्कीले उपाधि जित्न सफल भएकी हुन्।
कानुन विषयको अध्ययन पृष्ठभूमि रहेकी कार्कीले प्रतियोगिताभर उत्कृष्ट प्रस्तुति, आत्मविश्वास र व्यक्तित्व प्रदर्शन गर्दै निर्णायकहरूको मन जितेकी थिइन्। उनको जितसँगै उदयपुर र कटारी क्षेत्रका स्थानीयवासीमा खुसीको माहोल छाएको छ।
त्यसैगरी, पेशाले इन्जिनियर रहेका मृधुल आचार्य ‘मिस्टर सुपरनाशनल नेपाल २०२६’ घोषित भएका छन्। प्रतियोगितामा सहभागी अन्य प्रतिस्पर्धीलाई पछि पार्दै आचार्यले उपाधि आफ्नो नाममा लेखाउन सफल भएका हुन्।
आयोजकका अनुसार विजेता पूर्णिमा कार्की र मृधुल आचार्यले आगामी सेप्टेम्बरमा पोल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मिस्टर एन्ड मिस सुपरनाशनल’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्। उक्त प्रतियोगिताको तयारीका लागि उनीहरू आगामी जुलाई १३ मा पोल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
विश्वका विभिन्न देशका प्रतिनिधिहरू सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेपछि पूर्णिमा कार्कीप्रति शुभकामनाको ओइरो लागेको छ। उनको सफलताले उदयपुर जिल्लासहित सम्पूर्ण नेपाली युवायुवतीलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।



























































