काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी समानुपातिक सांसद सृष्टि भट्टराई कारको झ्यालबाट शरीर बाहिर निकालेर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि कारबाहीको माग तीव्र बनेको छ। सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरिरहेका छन्।


ADVERTISEMENT


सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको भिडियोमा भट्टराई कारको अगाडिको सिटमा बसेर झ्यालबाट शरीर बाहिर निकाल्दै यात्रा गरिरहेको देखिन्छ। सडक सुरक्षाका दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिने यस्तो गतिविधिले दुर्घटनाको सम्भावना बढाउने भएकाले सर्वसाधारणदेखि सरोकारवालासम्मले चासो व्यक्त गरेका छन्।


ADVERTISEMENT

# # #


नेपाल प्रहरीले पछिल्लो समय सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गर्न व्यापक सचेतना अभियान सञ्चालन गरिरहेको छ। विशेषगरी सवारीको झ्याल, ढोका वा छतमाथि बसेर यात्रा नगर्न तथा जोखिमपूर्ण गतिविधिबाट टाढा रहन आग्रह गर्दै आएको छ। यद्यपि, सार्वजनिक प्रतिनिधिकै संलग्नतामा यस्ता दृश्य सार्वजनिक भएपछि नियम कार्यान्वयनको विषय पुनः चर्चामा आएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार लापरबाहीपूर्ण तरिकाले सवारी चलाउने वा यात्रा गर्ने कार्यलाई कानुनी रूपमा दण्डनीय मानिएको छ। त्यसैले भट्टराईमाथि पनि कानुनअनुसार कारबाही हुनुपर्ने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ।

यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि चलिरहेको सवारी साधनमा जोखिमपूर्ण शैलीमा यात्रा गरेको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले जरिवानाको निर्णय गरेको थियो। सो घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै धेरैले सांसद भट्टराईको हकमा पनि समान व्यवहार हुनुपर्ने बताएका छन्।

उता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनाबारे जानकारी संकलन गरिरहेको जनाएको छ। कार्यालयका एक अधिकारीका अनुसार भिडियो कुन स्थानमा र कहिले खिचिएको हो भन्ने विषयमा यकिन गर्ने प्रयास भइरहेको छ। तथ्य पुष्टि भएपछि आवश्यक कानुनी प्रक्रिया र कारबाहीबारे निर्णय गरिने बताइएको छ।

भिडियो भाइरल भएसँगै सांसद भट्टराईको उक्त गतिविधि सामाजिक र राजनीतिक वृत्तमा समेत बहसको विषय बनेको छ। जनप्रतिनिधिहरूले कानूनको पालना गर्दै नागरिकलाई सकारात्मक सन्देश दिनुपर्ने आवाजसमेत उठ्न थालेको छ।