काठमाडौँ– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङस्थित लोमन्थाङ गाउँपालिका–१ मा निर्माण गरिएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको नयाँ छात्रावास भवन उद्घाटन गरिएको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ ले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्।
उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको दुईतले छात्रावास भवनमा चारवटा ब्लक तथा आवश्यक सहायक संरचनाहरू समावेश छन्। परियोजना लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।
विद्यालयले बौद्ध शिक्षासँगै नेपाल सरकारको पाठ्यक्रमअनुसारको औपचारिक शिक्षा प्रदान गर्दै आएको छ। स्थानीय सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणमा समेत विद्यालयले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताइएको छ।
उद्घाटन समारोहमा राजदूत श्रीवास्तवले परियोजनाको सफल कार्यान्वयनमा संलग्न सबै पक्षलाई बधाई दिँदै नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्दै विकास र समृद्धिका साझा लक्ष्य हासिल गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गरेका थिए।
उनीहरूले नयाँ छात्रावास भवनले विद्यार्थीका लागि आवासीय सुविधा विस्तार गर्नुका साथै विद्यालयको समग्र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
भारतीय दूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत भारत सरकारले हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना अघि बढाइसकेको छ। गण्डकी प्रदेशमा मात्रै ६३ परियोजना सञ्चालनमा रहेका छन्, जसमध्ये १८ परियोजना मुस्ताङ जिल्लामा रहेका छन्।
त्यसैगरी भारत सरकारले विगतका वर्षहरूमा मुस्ताङ जिल्लाका विभिन्न संस्थालाई ११ वटा एम्बुलेन्स र ६ वटा विद्यालय बस उपलब्ध गराएको छ भने गण्डकी प्रदेशभर स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूलाई १२६ एम्बुलेन्स र ५२ विद्यालय बस उपहारस्वरूप प्रदान गरेको जनाएको छ।
भारतीय दूतावासले नेपाल–भारतबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउँदै प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास तथा स्थानीय समुदायको जीवनस्तर उकास्न सहयोग जारी रहने जनाएको छ।



























































