काठमाडौं – “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने नारासहित ११औँ अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ।
हरेक वर्ष जुन २१ का दिन मनाइने अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठित मूल समारोह समितिले काठमाडौंमा योगाभ्यास, प्रवचन तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव सुमनराज अर्यालले सरकारले राष्ट्रिय रूपमा योग, ध्यान र आरोग्य दिवस मनाउने निर्णय गरिसकेको जानकारी दिएका छन्। उनले विद्यालय तहदेखि नै योग, ध्यान र आरोग्यसम्बन्धी पाठ्यक्रम समावेश गरी पठनपाठनसमेत सुरु गरिएको बताएका छन्।
मुख्यसचिव अर्यालले योगका फाइदाबारे व्यापक प्रचारप्रसार भए पनि सबै नागरिकले त्यसको प्रत्यक्ष लाभ लिन नसकेको उल्लेख गर्दै योगप्रति जनचेतना अभिवृद्धि गर्न थप अभियान सञ्चालन गरिने जानकारी दिए।
त्यसैगरी, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योग समिति नेपालले पनि काठमाडौंको खुलामञ्चमा विशेष योगाभ्यास कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न उमेर समूहका सहभागीहरूले योगाभ्यास गर्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरणा दिएका छन्।
सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतका प्रधानमन्त्री ले अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई तत्कालीन नेपाली प्रधानमन्त्री सहित विश्वका धेरै राष्ट्रहरूले समर्थन गरेका थिए। त्यसपछि सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
योगले शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने विश्वासका साथ विश्वभर आज विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ।



























































