काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र विस्तृत छानबिन गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देवानगञ्ज घटनामा सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको भन्दै घटनाको वास्तविकता बाहिर ल्याउन विस्तृत अध्ययन तथा निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।
उनले ‘बोलबम’ धार्मिक यात्राका क्रममा सुरु भएको विवादले साम्प्रदायिक रूप लिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। यस्ता संवेदनशील विषयलाई संवाद, संयम र राजनीतिक सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले मुलुकमा देखिएका जटिल समस्याको समाधानका लागि अनुभवी राजनीतिक नेतृत्वबीच संवाद हुनुपर्ने धारणा राखेका छन्।
उनले अहिले पुराना नेताहरूको अनुभव उपयोग गर्न सरकार अनिच्छुक देखिएको हो कि भन्ने प्रश्न गर्दै कठिन परिस्थितिमा अनुभवी नेतृत्वको सुझाव र सहकार्य आवश्यक रहेको बताएका छन्।
प्रचण्डले सुकुम्बासी समस्या, ट्रेड युनियन अधिकार, विद्यार्थी आन्दोलन तथा राष्ट्रिय स्वाधीनतासँग जोडिएका विषयमा सरकार चुकेको आरोप पनि लगाएका छन्।
त्यस्तै लगानी, उत्पादन, रोजगारी, पुँजीगत खर्च, राजस्व संकलन तथा कर प्रणालीजस्ता आर्थिक सूचकमा सरकार अपेक्षाअनुसार सफल हुन नसकेको टिप्पणी गर्दै जनतामा निराशा बढेको उनको भनाइ छ।
सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक प्रणालीभन्दा नियन्त्रणमुखी प्रवृत्तिलाई प्रोत्साहन गरिरहेको आशंका व्यक्त गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता, सुशासन र समृद्धिका लागि सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन्।



























































