काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ।


ADVERTISEMENT


अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा बैंकको नाफा करिब ८१ करोड रुपैयाँले बढेको हो।


ADVERTISEMENT

# # #


नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि सुधारिएको छ। अघिल्लो वर्ष ८.६८ रुपैयाँ रहेको ईपीएस बढेर १३.५३ रुपैयाँ पुगेको छ।

बैंकको नाफा बढ्नुमा इम्पेयरमेन्ट चार्जमा आएको ठूलो गिरावट प्रमुख कारण बनेको छ। अघिल्लो आर्थिक वर्षमा करिब २ अर्ब ६८ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आर्थिक वर्षमा घटेर करिब ८२ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। यसमा करिब ६९ प्रतिशतको कमी आएको हो।

त्यस्तै, बैंकको निक्षेप लागत पनि घटेको छ। निक्षेप लागत ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशतमा आएको छ। नेट शुल्क तथा कमिसन आम्दानी ६.३३ प्रतिशतले बढेको छ भने नेट ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानीमा ५२.१२ प्रतिशतको वृद्धि भएको छ।

बैंकको निक्षेप संकलन पनि बढेको छ। आर्थिक वर्षको अन्त्यसम्म निक्षेप २ खर्ब ३७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो निक्षेप २ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ थियो।

यता कर्जा तथा सापटी १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको कर्जा १ खर्ब ६८ अर्ब ८६ करोड रुपैयाँ थियो। बैंकको कुल सम्पत्ति पनि बढेर २ खर्ब ६८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

सम्पत्ति गुणस्तरतर्फ पनि बैंकले केही सुधार गरेको छ। निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४.८९ प्रतिशतबाट घटेर ४.५८ प्रतिशतमा झरेको छ।

यद्यपि, बैंकको वितरणयोग्य नाफा भने खुद नाफाको तुलनामा निकै कम छ। आर्थिक वर्षको अन्त्यसम्म वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ अर्थात् करिब ३.३७ प्रतिशत रहेको छ। नियामकीय प्रावधान तथा विभिन्न समायोजनका कारण वितरणयोग्य नाफा छुट्टै गणना हुने गर्छ। बैंकले डेफर्ड ट्याक्स एसेट्सबापत करिब ४३ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य नाफाबाट समायोजन गरेको जनाएको छ।

समग्रमा सिटिजन्स बैंकको वित्तीय विवरणले नाफा, ईपीएस, स्रोत लागत, इम्पेयरमेन्ट चार्ज र खराब कर्जाजस्ता प्रमुख सूचकमा सुधार देखाएको छ।